पहिलाभन्दा यसरी फरक छ अविमोच्य असञ्चिति अग्राधिकार शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2024 | 09:30:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सामान्य अर्थमा अविमोच्य असञ्चिति अग्राधिकार शेयर (प्रपेञ्चुअल नन कुमुलेटिभ प्रिफरेन्स शेयर)  भनेको कुनै पनि बैंक तथा वित्तीय संस्थाको साधरण शेयरको तुलनामा प्राथमिकता प्राप्त अथवा प्रोमोटर इक्विटी शेयर जस्तै हो ।

यसलाई अग्राधिकार शेयर पनि भनिन्छ ।प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर अर्थात् प्रिफिरेन्स शेयर भनिन्छ ।अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयर बापतको लाभांश बाँडिन्छ ।

यससन्दर्भमा नेपाल राष्ट्र बैंकले पनि हालै बैंक तथा वित्तीय संस्थाहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न पाउने व्यवस्था गरेको छ । यसले विशेष गरि प्राथमिक पूँजीकोष (टायर वन) को दबाबमा परेर व्यवसाय विस्तार गर्न नसकेका बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा प्रवाह गर्ने बाटो खोलिदिएको छ। 

 पूँजीकोषको दबाबमा रहेका केहि बैंकले अग्राधिकार शेयर जारी गर्न अनुमति माग्दै राष्ट्र बैंकमा निवेदन दर्ता गरिसकेका छन् । हालसम्म एनआईसी एशिया र नबिल बैंकले ५र५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्न निवेदन दिएका छन् । 

केन्द्रीय बैंकले पहिलो पटक अविमोच्य असञ्चिति अग्राधिकार शेयरको व्यवस्था ल्याए पनि अग्राधिकार शेयर पहिलोपटक भने होइन। यस  अगाडि पनि केहि बैंक तथा वित्तीय संस्थाहरुले अग्राधिकार शेयर जारि गरिसकेका छन्। 

केहि समयअघि एभरेष्ट बैंकले २० करोड रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गरेको थियो । त्यस्तै, तारागाउँ रेजेन्सीले पनि यो सुविधा पहिला नै उपयोगमा ल्याइसकेको अहिले पनि कृषि विकास बैंकसँग ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँको नयाँ उपकरण जस्तै ६ प्रतिशत लाभांश दिने अविमोच्य असञ्चित अग्राधिकार शेयर छ ।

त्यति प्रचलनमा नभएको र धितोपत्रको दोस्रो बजारमा कारोबार पनि नहुने अविमोच्य असञ्चित अग्राधिकार शेयर अब भने  बैंक तथा  वित्तीय संस्थाहरुका लागि पूँजीकोष व्यवस्थापनको अनिवार्य उपकरणको रुपमा देखिने सम्भावना छ । तर अबका दिनमा आउने नयाँ उपकरणमा केन्द्रीय बैंकले शर्त भने लागू गर्ने देखिन्छ ।

यसअघि ल्याईएका अग्राधिकार शेयरमा अन्य प्रकार (साधारण प्रकृति) शेयरमा परिवर्तन गर्न पाईने (कन्भर्टिवल), लाभांश सञ्चिति (कुमुलेटिभ) गर्न पाईने वा निश्चित अवधिपछि भुक्तानी पाउने (रिडेम्सन) सुविधा थियो । तर अब जारी हुने अग्राधिकार शेयरका लागि परिवर्तनीय र सञ्चिततीको सुविधा भने हुने छैन । यति मात्र होइन, यसमा गरिएको लगानी फिर्ताको विकल्प हुने छैन् अर्थात् अविमोच्य (ननरिडेमल) चरित्रका हुनेछन् । 

यसको अर्थ पहिलेको अग्राधिकार शेयरहरु जसरी निश्चित समयपछि साधारण शेयरमा रुपान्तरण पनि हुने छैन भने लाभांश पनि सञ्चित हुने छैन । अर्थात् प्रतिबद्दता गरेको दर अनुसार लाभांश वितरण गर्न पर्याप्त नाफा भएन भने अग्राधिकार शेयरधनीले उक्त वर्ष नाफा पाउने छैनन् ।

विगतको वा अर्को वर्षको नाफामा लाभांश हिसाबमा सार्न तथा मिलान वा वितरण गर्न पाइने छैन अर्थात् त्यो वर्षको प्रतिबद्दता अनुसारको नाफा निष्क्रिय हुन्छ। अविमोच्य हुँदा कुनै शेयरधनीले लगानी व्यवस्थापन गर्न चाहेमा के गर्ने त्यसको विकल्पका बारेमा हालसम्म राष्ट्र बैंकले कुनै उपाय भने दिएको छैन ।

जसका कारण यसमा  लगानीकर्ताको आकर्षण विगतको अग्राधिकारको भन्दा कम हुन सक्छ। यस्तै कुनै वर्ष खुद मुनाफा नभएको अवस्थामा लाभांश प्राप्त गर्ने अधिकार समेत नहुने अवस्थामा यस्तो सेयर सब्सक्राइब हुनेमा समेत आशंका छ ।

यसरी अनिश्चित लाभांश र शेयर हस्तान्तरण वा बिक्रीको माध्यमाबाट लगानी व्यवस्थापनको विकल्प समेत नरहेको प्रस्तावित अविमोच्य असञ्चित अग्राधिकार शेयर सम्बन्धित शेयरधनीका लागि कतिको फलदायी हुनेछ वा जोखिमपूर्ण हुनेछ, त्यो भने हेर्न बाँकी छ ।

उदाहरणका लागि, कुनै बैंकले साढे ८ प्रतिशत लाभांश दिने गरी १ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गरेकोमा बैंकले चालु आर्थिक वर्षमा करपछिको खुद मुनाफा साढे ८ करोड गरेमा अग्राधिकार शेयरधनीले उक्त वर्ष तोकिएको साढे ८ प्रतिशतको दरले लाभांश पाउने छन् ।

तर कुनै कारणवश उक्त बैंकको खुद मुनाफा साढे ८ करोड रुपैयाँ पनि नभएको अवस्थामा अग्राधिकार शेयरधनीले लाभांश पाउदैनन्। यति मात्र नभएर यो वर्षको लाभांश अर्को वर्ष जोडिएर एकैपटक पाउने अवस्था रहँदैन। यो नै अविमोच्य असञ्चिति अग्राधिकार शेयरको प्रमुख विशेषता हो।

यो पनि हेर्नुहोस् :

बैंकहरुले अग्राधिकार शेयर जारी गर्न पाउने, यस्ता छन् शर्तहरु

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved