
ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख नाघेको छ ।
विसं २०६३ सालमा स्थापना भएको उक्त कम्पनीले १७ वर्षभित्रमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्ति गरेर अधिकांश वित्तीय सूचकहरुमा मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने सफलता प्राप्त गरेको छ ।
साथै, हालैमात्र कम्पनीको निक्षेप ५ खर्ब रुपैयाँभन्दा बढि पुगेको छ । पूँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि नेपालका अन्य बैंक तथा वित्तीय संस्थाहरुमध्ये पहिलो नम्बरमा रहेको कम्पनीले बताएको छ ।ग्राहकमैत्री सेवाहरु, साना तथा मझौला ब्यवसायमा जोड, प्रविधिमैत्री सेवाहरुका साथै उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै कम्पनीले आम नागरिकको विश्वास जित्दै आएको बताएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । कम्पनीका १ हजार १०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू छन् ।
कम्पनीले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिंदै आएको छ ।
कम्पनीले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।