नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार अपरान्ह तीन बजेसम्म अनलाइनबाठ आवदेन दिन सक्नेछन् । पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै गएको छ तर निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा लगानी योग्य रकम जम्मा हुँर्दै गएको छ ।
केन्द्रीय बैंकका अनुसार साउन २० गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको आकार ६४ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५१ खर्ब ४५ अर्ब रुपैयाँ बराबर मात्र भएको छ ।
समीक्षा अवधिमा सीडी रेसियो जम्मा ७८.४५ प्रतिशत मात्र छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थामा ७ खर्ब भन्दामाथि तरलता छ । जसका कारण केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत निरन्तर तरलता प्रशोचन गरेको हो ।
बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्नेगर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपो मार्फत प्रशोचन गर्ने गरिन्छ ।