अग्राधिकार शेयरका लागि ४ बैंकको प्रतिस्पर्धा, १३ करोड ३५ लाख कित्ता जारी हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2024 | 09:38:30 AM मा प्रकाशित

laxmi  sunrise bank

चार ओटा अलग -अलग बैंकहरुले अग्राधिकार शेयर जारी गर्ने तयारी गरेका छन् । हालसम्ममा तीन वटा वाणिज्य बैंक र एउटा विकास बैंकले अग्राधिकार शेयर जारी गर्ने योजना बनाएका छन् ।

नबिल बैंक, एनएमबि बैंक,एनआईसी एशिया बैंक र कामना सेवा विकास बैंकले कुल १३ करोड ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्न लागेका हुन् ।पूँजीकोषको दबाबका कारण व्यवसाय विस्तार गर्न बाधा पुगेपछि कम्पनीहरु अग्राधिकार शेयर जारी गर्ने योजनामा लागेका हुन्। 

नबिल बैंकले भने ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव गत भदौ १७ गते बसेको विशेष साधारणसभाबाट पारित गरेको छ । कम्पनीलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर” जारी गर्ने बाटो खुल्ने छ ।

व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजीको माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले अग्राधिकार शेयर जारी गर्न लागिएको कम्पनीको भनाइ छ। 

उता एनआईसी एशिया बैंकले पनि ५ करोड कित्ता अग्राधिकार शेयर जारी गर्ने तयारी गरेको छ । यसको ब्याजदर ८.५ प्रतिशत छ ।

त्यस्तै एनएमबि बैंकले ३ करोड कित्ता अगा्रधिकार शेयर निष्कासन गर्ने योजना बनाएको छ । कम्पनीले गत भदौ १४ गते बसेको सञ्चालक समिति बैठकबाट १०० रूपैयाँका दरले ३ करोड इकाई (३ अर्ब रूपैयाँ बराबरको) अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।कम्पनीको ब्याजदर भने ८.२५ प्रतिशत छ ।

त्यस्तै विकास बैंकतर्फ कामना सेवा विकास बैंकले पनि अग्राधिकार ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीको ब्याजदर ९ प्रतिशत छ । ती चार वटा कम्पनीले जारी गर्न लागेको ननक्युमुलेटिभ अग्राधिकार शेयर हुन् ।

जुन वर्ष नाफा भएको हो, त्यही वर्ष मात्र लाभांश बाँडिने शेयरलाई ननक्युमुलेटिभ अग्राधिकार शेयर भनिन्छ । लगानीयोग्य रकम जुटाउनको लागि गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खोलिदिएको थियो। सोहि व्यवस्थाअनुसार नबिल बैकलगायतका कम्पनीहरुले अग्राधिकार शेयर जारी गर्न लागेका हुन् ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले  नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरको मताधिकार नहुने भएकोले वर्तमान शेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिने बताएका छन्।  पूँजीकोष दबाबमा भएका बैंकलाई यस्तो शेयर जारी पश्चात केही सहज हुने अपेक्षा केन्द्रीय बैंकले गरेको छ ।

के हो अग्राधिकार शेयर ?

कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको शेयरलाई अग्राधिकार शेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण शेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार शेयर भनिएको हो ।यस्तै कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार शेयरवालाहरुको अग्राधिकार हुन्छ ।

यसैकारण अग्राधिकार शेयरमा गरिने लगानीलाई तुलनात्मकरुपमा कम जोखिमपूर्ण मानिएको छ । तर सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार शेयरवालाहरुले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन् । अर्कोतर्फ कम्पनीले जतिसुकै नाफा आर्जन गरेता पनि अग्राधिकार शेयरवालाहरुले तोकिएको दरभन्दा बढी लाभांश प्राप्त गर्न सक्दैनन् ।

यसप्रकार अग्राधिकार शेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ । अग्राधिकार शेयरवालाहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा वाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउँदैनन् । अग्राधिकार शेयरलाई मिश्रित प्रकृतिको धितोपत्र को रुपमा लिइन्छ किनभने यसमा साधारण शेयर तथा डिवेञ्चर दुवैको विशेषता हुन्छ ।

अग्राधिकार शेयरहरु सञ्चयशील (कुनै वर्ष कम्पनी नोक्सानमा गई लाभांश भुक्तानी गर्न नसक्दा लाभांश सञ्चय भै आगामी वर्षको नाफाबाट भुक्तानी गर्नुपर्ने) वा असञ्चयशील, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशील (निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved