नेपाल राष्ट्र बैंकले सोमबार पनि बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि सोमबार पनि केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्को अवधि सकिएकाले पुनः ५० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
निक्षेप बढिरहेको बेला कर्जाको माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको छ । अन्तर बैंक ब्याज दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले बताएको छ ।
निक्षेप संकलन खरिदका लागि सोमबार अपरान्ह ३ बजेसम्म अनलाइन बोलकबोल गर्नुपर्नेछ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले बताएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।