धितोपत्रलाई बैंक तथा वित्तीय संस्थाबाट धितो राखेर कर्जा पाइने कुरा त तपाई हामीले सुनेकै छौं । अन्य धितोभन्दा धितोपत्र चाहिं निकै तरल सम्पत्ति हो। यसलाई जुनसुकै बेला पनि बिक्री गरेर कर्जा तिर्न सकिन्छ।
यसबारेमा मंगलबार वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकले पनि स्पष्ट पारेको छ ।
केन्द्रीय बैंकले शेयर धितो कर्जाका लागि नियामकीय व्यवस्था गरेको छ। सोही व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा राखेर कर्जा दिने गर्दछन् ।
राष्ट्र बैंकका अनुसार धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको शेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको लागि सुरक्षणबापत राखिने शेयरको नेपाल स्टक एक्सचेन्ज(नेप्से) बाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र शेयर धितो कर्जाको सीमा कायम गर्न सकिन्छ ।
त्यस्तै शेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा थप धितोको लागि ऋणी ग्राहकलाई सूचीत गर्नुपर्दछ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ता बाहेकको हकमा यस्तो कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड (कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाबाट कुल) कायम रहेको छ ।
यसअघि भने एक व्यक्ति वा संस्थाले यस्तो कर्जा १२ करोडसम्म मात्रै लिन पाउने व्यवस्था रहेको थियो । त्यसलाई बढाएर अब व्यक्तिगत लगानीकर्ता वा इजाजतपत्र संस्थाले १५ करोडसम्म यस्तो कर्जा लिन सक्नेछन् ।