स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गोरख राणालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) र बोर्ड सदस्यमा नियुक्त गरेको गरेको छ। गोरख राणाको कार्यकाल २०८१ पुस १७ (१ जनवरी २०२५) बाट सुरु हुने बैंकले जनाएको छ। यो निर्णय बैंकको ९ डिसेम्बर २०२४ मा सम्पन्न बोर्ड बैठकमा अनुमोदित भएको हो।
सन् १९८७ मा नेपालमा स्थापना भएदेखि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले विदेशी सीईओहरू नियुक्त गर्दै आएको थियो। गोरख राणा यस पदमा नियुक्त हुने पहिलो नेपाली हुन्। यसले बैंकको नेतृत्वमा नेपाली क्षमताको पहिचानलाई विशेष महत्व दिएको देखिन्छ।
गोरख राणाले अनिर्वाण घोष दास्तिदारलाई प्रतिस्थापन गर्नेछन्, जसले ६ वर्षसम्म सफलतापूर्वक बैंकको नेतृत्व गरेका थिए। अनिर्वाण अब बैंकको बोर्डका विशेष सल्लाहकारको रूपमा काम गर्नेछन्।
सन् १९८७ देखि नेपालमा सञ्चालनमा आएको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा शुरूदेखि नै विदेशी सीईओ नियुक्त हुँदै आएको थियो । नयाँ सीईओका रूपमा राणाको नियुक्तिले यो क्रम तोडिएको छ ।
स्ट्यान्डर्ड चार्टर्डमै काम गरिसकेका बैंकरहरू सशिन जोशी, अनिल शाह, परशुराम कुँवर क्षेत्री तथा सुदेश खालिङ अन्य बैंकमा सीईओ भइसक्दा पनि स्ट्यान्डर्ड चार्टर्डले उपल्लो दर्जामा रहेका नेपाली कर्मचारीलाई यसअघि सीईओको जिम्मेवारी दिएको थिएन । तसर्थ सीईओमा राणाको नियुक्तिले विशेष अर्थ राख्छ ।
हालका सीईओ अनिर्वाण घोष दस्तीदारको पदावधि सकिएसँगै राणाले नयाँ सीईओको जिम्मेवारी पाएका हुन् । बैंक स्रोतका अनुसार राणाले जनवरी २०२५ बाट सीईओका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
बैंकका सञ्चालकमध्येका एक सिद्धान्तराज पाण्डेले सोमवार बेलुका आफ्नो फेसबुकबाट राणाको नियुक्तिको खुलासा गरिसकेका छन् । आफ्नो फेसबुकमा दस्तीदार र राणासहितको आफ्नो तस्वीर राखेर पाण्डेले लेखेका छन्, ‘स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका पहिलो नेपाली सीईओका रूपमा नियुक्त भएकोमा गोरख राणालाई बधाई तथा दुबईमा नयाँ कार्यभार गर्न लागेका अनिर्वाणलाई हार्दिक शुभकामना ।´
गोरख राणाको अनुभव
स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ३० वर्षभन्दा बढी समय बिताएका गोरख राणा हाल डेपुटी सीईओको रूपमा कार्यरत छन्। उनले बैंकको कर्पोरेट, इन्भेस्टमेन्ट, रिटेल र वेल्थ बैंकिङमा विभिन्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। अमेरिकाको नक्स कलेजबाट अर्थशास्त्रमा स्नातक र इलिनोइस विश्वविद्यालयबाट एमबीए गरेका राणाले बैंकको व्यापार वृद्धिमा उल्लेखनीय योगदान दिएका छन्।
बैंकको परिचय
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा ७०.२१% विदेशी लगानी र २९.७९% नेपाली सर्वसाधारणको स्वामित्व छ। नेपालमा सञ्चालन भइरहेका बैंकमध्ये अन्तर्राष्ट्रिय स्तरको मात्र एक बैंकका रूपमा यो संस्थाले उच्च प्रतिष्ठा बनाएको छ।
गोरख राणाको नेतृत्वमा बैंकले थप उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ। यो नियुक्तिले नेपाली बैंकिङ क्षेत्रमा नेतृत्व विकासको नयाँ अध्यायको सुरुवात भएको संकेत गरेको छ।