नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, एनआईएमबि (NIMB) हरित जलवायु कोष (Green Climate Fund - GCF) बाट मान्यता प्राप्त गर्ने नेपालको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक बनेको छ। मध्यम आकारको कोटीमा मान्यता प्राप्त गर्दै, NIMB लाई अब USD 50 मिलियन देखि USD २५० मिलियन सम्मका परियोजनाहरू व्यवस्थापन गर्न सक्षम बनाएको बैंकले जनाएको छ।
यो उपलब्धिले नेपालको निजी क्षेत्रलाई जलवायु वित्तमा ऐतिहासिक सफलता प्रदान गरेको बैंकको दाबी छ।
हरित जलवायु कोष (GCF) पेरिस सम्झौताका महत्वपूर्ण तत्त्वहरूमध्ये एक हो। यो २०१० मा संयुक्त राष्ट्र जलवायु परिवर्तन संरचना सम्मेलन (UNFCCC) का १९४ सदस्य राष्ट्रहरूले स्थापना गरेको थियो। GCF विश्वको सबैभन्दा ठूलो जलवायु कोष हो, जसले निम्न-उत्सर्जन र जलवायु-लचिलो मार्गतर्फ विकासशील राष्ट्रहरूको लक्ष्य हासिल गर्न सहयोग पुर्याउन काम गर्दछ।
एनआईएमबि का प्रमुख कार्यकारी अधिकृत (CEO) ज्योति प्रकाश पाण्डेले भने, “GCF बाट मान्यता पाउनु हाम्रो लागि ठूलो सम्मानको कुरा हो। हामी यस अवसरलाई उपयोग गरी नविन र रुपान्तरणकारी जलवायु परिवर्तन परियोजनाहरू कार्यान्वयन गर्न प्रतिवद्ध छौं। मान्यता प्राप्तिको प्रक्रिया कडा थियो, र यो ऐतिहासिक उपलब्धि हासिल गर्न हामीलाई समर्थन गर्ने वित्त मन्त्रालय (NDA), राष्ट्रिय र अन्तर्राष्ट्रिय DAEs, परामर्शदाताहरू, र सबै सरोकारवालाहरूलाई धन्यवाद दिन चाहन्छौं।”
यस मान्यतासँगै, एनआईएमबि ले निजी क्षेत्रलाई हरित र दिगो लगानीमा सहकार्यको ठूलो सम्भावना रहेको स्पष्ट सन्देश दिएको छ। NIMB जलवायु परिवर्तनसँग सम्बन्धित ऊर्जा उत्पादन र पहुँच, यातायात, सामुदायिक जीविकोपार्जन, दिगो कृषि, स्वास्थ्य, खाद्य र पानी सुरक्षा, तथा लचिलो संरचनागत विकास जस्ता क्षेत्रमा केन्द्रित हुनेछ।
स्थानीय समुदायहरू, सरकारी निकायहरू, र अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्दै एनआईएमबि ले यी परियोजनाहरूको प्रभावलाई अधिकतम बनाउने लक्ष्य राखेको छ। यसले नेपालकोराष्ट्रिय जलवायु लक्ष्य र जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई महत्वपूर्ण योगदान दिनेछ।
एनआईएमबि नेपालको एक प्रमुख वित्तीय संस्था हो, जसले देशभर २७२ शाखा, ८१ शाखारहित बैंकिङ सेवा, २६६ एटीएम, र ६५ विस्तारित काउन्टरमार्फत करिब ३.२९ मिलियन ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
GCF सन् २०१० मा क्यानकुन सम्झौताअन्तर्गत स्थापना गरिएको थियो। यो UNFCCC र पेरिस सम्झौताका वित्तीय संयन्त्र अन्तर्गतको एक विशेष कोष हो। कोरियामा मुख्यालय रहेको यस कोषले विकासशील राष्ट्रहरूलाई जलवायु परिवर्तनको चुनौतीको सामना गर्न सहयोग पुर्याउने उद्देश्य राखेको छ। यसले न्यूनीकरण र अनुकूलन कार्यका लागि समान मात्रामा वित्तीय सहयोग प्रदान गर्दै UNFCCC का सिद्धान्त र प्रावधानहरूबाट निर्देशित हुन्छ।