कमर्शियल बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्थाले कृषि विकास बैंकको लहान शाखामा भएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। लहान शाखाको भनेर बाहिर आएका अधिकांश समाचार कपोलकल्पित तथा भ्रमपूर्ण भएको तीनवटै संघले विज्ञप्ती मार्फत जनाएका छन्।
कमर्शियल बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था, नेपाल बैंकर्स संघ, विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएअसन नेपाल, र नेपाल वित्तिय संस्था संघले संयुक्त विज्ञप्ती मार्फत कृषि विकास बैंकको लहान स्थित शाखाको घटनामा ध्यानाकर्षण जनाएका हुन्।
कृषि विकास बैंक लिमिटेडको सिराहा जिल्ला, लहानस्थित शाखा लगायतका केही शाखाहरूमा कर्मचारी लक्षित सामाजिक सञ्जाल र सञ्चार माध्यममा फैलिएका कपोलकल्पित तथा भ्रमपूर्ण समाचारले गम्भीर समस्या सिर्जना गरेको बैंकर्स संघले जनाएको छ। अत्यावश्यक सेवा अन्तरगत रहेको बैंकिङ्ग सेवा अवरुद्ध गर्दै तालाबन्दी, ढुङ्गामुढा, होहल्ला जस्ता गतिविधिले दैनिक कामकाजमा बाधा पुर्याएकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ।
संघकाअनुसार यसप्रकारका अवरोधले ग्राहकहरूलाई बैंकिङ्ग सेवा उपयोग गर्नबाट वञ्चित गराउँदै आर्थिक गतिविधिमा नकारात्मक असर पुर्याएको छ। बैंकले नियामक निकायका नीति, निर्देशन तथा ऐनको अधीनमा रही पारदर्शी रुपमा निक्षेप संकलन, कर्जा प्रवाह र असुली कार्य गर्दै आइरहेको जनाएको छ। लिलाम लगायतका प्रक्रियाप्रति असन्तुष्टि भएमा कानूनी प्रक्रियामा जाने विकल्प उपलब्ध रहँदा पनि बैंकिङ्ग सेवा अवरुद्ध गर्ने कार्यलाई बैंकले अनुचित भनेको छ।
संघले ऋणीको पहिलो दायित्व भनेकै कर्जाको साँवा र किस्ता समयमा तिर्नु हो भन्नेमा जोड दिँदै कर्जा नतिर्ने कार्य अराजकता भएको बताएको छ। यस्ता गतिविधिले समाजमा असहज वातावरण सिर्जना गर्नुका साथै आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्न सक्ने भन्दै सजग रहन आग्रह गरिएको छ।
सामाजिक सञ्जालमा फैलाइएका भ्रामक टिप्पणीप्रति ग्राहकहरूलाई कुनै ध्यान नदिन आग्रह गर्दै संघले केवल आधिकारिक सूचना तथा सरोकार निकायको जानकारीलाई मात्र विश्वास गर्न अनुरोध गरेको छ।
संघले समाज खलबलाउने, त्रास फैलाउने तथा गलत अभिव्यक्ति दिनेहरूलाई कानूनको दायरामा ल्याई आवश्यक कारबाही गर्न सरकारी निकायलाई आग्रह गरेको छ। यसरी सिर्जना गरिने अवरोधले सबै पक्षलाई अप्ठ्यारोमा पार्ने भएकाले यस्ता कार्यहरू रोक्न संघले विशेष आग्रह गरेको छ।