राष्ट्रिय वाणिज्य बैंकद्वारा कृषि प्रवर्द्धन र आन्तरिक उत्पादन वृद्धिका लागि विशेष कर्जा योजना लागू

रासस

रासस

Jan 22, 2025 | 03:02:49 PM मा प्रकाशित

laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रमा कर्जा लगानी बढाउँदै आन्तरिक उत्पादन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्ने उद्देश्यसहित दुई विशेष कर्जा कार्यक्रम 'किसानसँग राष्ट्रिय वाणिज्य बैंक' र 'एक प्रदेश एक विशेष' सञ्चालनमा ल्याएको छ।

वित्तीय सुधार कार्यक्रम कार्यान्वयनपछि लगातार मुनाफा आर्जन गर्दै आएको बैंकले गत आर्थिक वर्ष रु दुई अर्ब ५५ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ। वित्तीय तथा व्यवस्थापकीय सुधारका कारण प्रमुख परिसूचकहरूमा सुधार हुँदै आएको विज्ञप्तिमा उल्लेख छ।

विसं २०२२ मा स्थापना भएको यो बैंकले २०६३ वैशाख ६ देखि सार्वजनिक कम्पनीका रूपमा कार्य गर्दै नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजतपत्र प्राप्त गरेको छ। बैंकको चुक्ता पुँजी रु १५ अर्ब ६३ करोड र पुँजी कोष रु ५२ अर्ब पुगेको छ।

बैंकले ४५ लाखभन्दा बढी निक्षेपकर्ताहरूबाट रु चार खर्ब ४७ अर्ब निक्षेप परिचालन गरेको छ। हाल २९४ शाखा, ६४ एक्सटेन्सन काउन्टर, र ९५ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइँदै आएको छ। चालु आवमा शाखा संख्या ३३० पुर्‍याउने लक्ष्य छ।

सङ्घीय सरकारका ५०, प्रदेश सरकारका ५१ कोष तथा १२८ स्थानीय तहका सरकारी कारोबार यो बैंकमार्फत हुने गरेको छ। साथै, निजामती, सेना, प्रहरी, र शिक्षकलगायतका निवृत्तिभरणको ६० प्रतिशतभन्दा बढी भुक्तानी यही बैंकमार्फत सम्पन्न हुने विज्ञप्तिमा उल्लेख छ।

प्रविधिमा आधारित बैंकिङ प्रणाली सुधार गर्दै आएको बैंकले डिजिटल कारोबारमा अग्रणी भूमिका निर्वाह गरेको छ। आरबिबी एसवाइएस प्रणालीको स्तरोन्नति र सूचना प्रविधिको स्तरीकरणमा जोड दिएको छ।

बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत दैवी प्रकोप राहत कोषमा रु दुई करोड सहयोग, वित्तीय साक्षरता, र सामाजिक कार्यमा योगदान पुर्‍याउँदै आएको छ।

महिला उद्यमशील कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, र व्यावसायिक कृषि कर्जामार्फत रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्दै आएको बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म रु दुई खर्ब ७९ अर्ब कर्जा प्रवाह गर्ने लक्ष्य राखेको छ।

बैंकले प्रतिस्पर्धात्मक वित्तीय सेवा, ग्राहक सन्तुष्टि, र डिजिटल बैंकिङको विस्तारमार्फत आफूलाई अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved