
नेपालकै पहिलो निजी वाणिज्य बैंक नबिल बैंकले कर्जा असुली प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ अभ्यास थालेको छ। बैंकले आज जारी गरेको एक सूचना मार्फत एसेट व्यवस्थापन परामर्शदाता (Assets Management Consultant) नियुक्त गर्न प्रस्ताव आह्वान गरेको छ।
बैंकका अनुसार संकटग्रस्त कर्जा असुली र जोखिममा रहेका व्यवसायहरूको व्यवस्थापनका लागि योग्य व्यक्ति वा दर्ता भएका कम्पनी/फर्महरूबाट प्रस्ताव मागिएको छ। नियुक्त परामर्शदाताले बैंकलाई वित्तीय स्थिरता कायम राख्न सहयोग गर्नुका साथै ऋण असुली सहज बनाउन भूमिका खेल्नेछ।
बैंकले जारी गरेको सूचनाअनुसार यस कार्यका लागि इच्छुक व्यक्ति वा दर्ता भएका कम्पनी तथा फर्महरूले आफ्नो प्रस्ताव पेश गर्न सक्नेछन्। नियुक्त कन्सल्टेन्टले संकटग्रस्त व्यवसायहरूको व्यवस्थापन गर्नुपर्ने छ भने बैंकको वित्तीय स्थिरता कायम राख्न मद्दत गर्नुपर्नेछ।
बैंककाअनुसार बैंकले लिखित अनुरोध गरेपछि विस्तृत सर्तहरू (TOR) उपलब्ध गराउनेछ। मुख्य उद्देश्य ऋण असुलीलाई सहज बनाउनु, एसेटको मूल्य अभिवृद्धि गर्नु र व्यावसायिक निरन्तरता सुनिश्चित गर्नु हो।
इच्छुक आवेदकहरूले आधिकारिक अनुरोध पत्र बैंकको एनपीए म्यानेजमेन्ट विभाग, नबिल बैंक लिमिटेड, बिजुली बजार, काठमाडौं, नेपाल मा पेश गर्नुपर्नेछ। साथमा कभर लेटर पनि समावेश गर्नुपर्नेछ, जसमा सेवा विवरण र योग्यता मापदण्ड उल्लिखित हुनुपर्नेछ।
इच्छुक आवेदकसंग वित्त, व्यवसाय प्रशासन वा सम्बन्धित क्षेत्रमा स्नातक डिग्री अनिवार्य हुनुपर्नेछ भने ऋण असुली, व्यवसाय व्यवस्थापन वा एसेट म्यानेजमेन्टको अनुभव आवश्यक हुनेछ। नेपाल क्रेडिट इन्फर्मेशन ब्युरोमा ब्ल्याकलिस्टेड नभएको र कुनै आपराधिक रेकर्ड नभएको हुनुपर्नेछ।
त्यस्तै आबेदन दिंदा कम्पनी दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र (PAN/VAT), पछिल्ला दुई वर्षका व्यवसायिक गतिविधिहरूको विवरण, संलग्न व्यक्तिहरूको सीभी बैंकलाई बुझाउनु पर्नेछ। बैंकले प्राप्त निबेदनको पृष्ठभूमि अनुसन्धान, अन्तर्वार्ता र नियामक आवश्यकताहरूको मूल्यांकन गर्नेछ र आवश्यकताअनुसार उचित निवेदक मध्ये एकलाई छनौट गर्नेछ।
पछिल्लो समय नेपालको बैङ्किङ्ग क्षेत्रमा कर्जा असुलीमा समस्या आउँदा एसेस्ट म्यानेजमेन्ट व्यवस्थापन गर्ने वा गर्नलाई सघाउने कम्पनीको खाँचो महसुस गरिएको छ। बैकहरुले नियमाकीय व्यवस्थाका कारण प्रत्यक्ष रुपमा खुलेर एसेस्ट म्यानेजमेन्ट व्यवस्थापन को लागि कम्पनी आब्हान गर्न नसकेपनि नबिल बैकले एसेट व्यवस्थापन परामर्शदाता को आब्हान गरेर बैङ्किङ्ग क्षेत्रमा एसेस्ट म्यानेजमेन्ट व्यवस्थाप गर्ने अभ्यासको थालनी गरेको छ। यो कदमले संकटग्रस्त कर्जाको व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।