
नेपाल राष्ट्र बैंक चालू आर्थिक वर्षको दोस्रो त्रैमासको मौद्रिक नीति समिक्षा सार्वजनिकको तयारीमा छ। यसैबेला, मौद्रिक नीतिको दोस्रो समिक्षालाई लिएर बिभिन्न किसिमका टिकाटिप्पणी गरिएका छन्।
केहिले गभर्नर महाप्रसाद अधिकारी यहि चैत २५ गतेदेखि राष्ट्र बैंकबाट बिदा हुने भएकाले यसअघिका कडा नीति संसोधन गरेर जनताको मन जित्ने प्रयास गर्ने टिप्पणी गरेका छन्। भने, केहिले मौद्रिक नीतिको समिक्षा निरन्तर प्रकृया भएकाले बजारमा हल्ला गरीए जस्तो समिक्षा नआउने बताए।
मौद्रिक नीतिको समिक्षा एउटा निरन्तरको प्रकृया भएकाले र राष्ट्र बैंक आफैंमा एउटा स्वायत्त नियामक भएकाले कुनै व्यक्तिको विदाई हुनु नहुनेले नीतिगत संसोधनमा प्रभाव नपर्ने राष्ट्र बैंकका एक उच्च अधिकारी बताउछन।
उनि भन्छन, 'नीति भन्ने कुरा व्यक्तिको मुड र अवस्थाले बन्दैन, देशको आवश्यकता अनुसार बन्छ। अहिले नीतिगत संसोधन गर्नुपर्ने वा सुधार गर्नुपर्ने धेरै बिषय नै नभएकाले बजारमा हल्ला गरीए जस्तो समिक्षा मार्फत ठुलो नीतिगत परिवर्तन हुँदैन।'
त्यसो त गभर्नर महाप्रसाद अधिकारीले पनि बिभिन्न सार्वजनिक फोरममा बोल्ने क्रममा मौद्रिक नीतिको समिक्षामा ठुलो नीतिगत परिवर्तनको 'स्पेस' नभएको बताउने गरेका छन्। अहिले नेपाल सरकारले नै आफुले सक्नेजति पूँजीगत खर्च गरेर अर्थतन्त्रलाइ चलायमन बनाउने बेला भएकाले राष्ट्र बैंकसंग धेरै स्पेस नभएको उनको धारणा रहेको छ।
राष्ट्र बैंकका सहप्रवक्ता डा डिल्लीराम पोखरेलकाअनुसार राष्ट्र बैंक अहिले मौद्रिक नीतिको समिक्षाको तयारीमा जुटेको छ। ढिलोमा फागुन पहिलो सातभित्र मौद्रिक नीतिको दोस्रो समिक्षा सार्वजानिक हुनेछ।
सामान्यतया, मौद्रिक नीतिको समिक्षा एक त्रैमास सकिएको ४५ दिन भित्र ल्याउनुपर्ने कानुनी प्राबधान रहेको छ। जसअनुसार फागुन १५ गतेभित्र मौद्रिक नीतिको समिक्षा सार्वजानिक भईसकेको हुनुपर्नेछ।