
डिजिटल वालेट ईसेवामा रहेको रकम अब एनआईसी एसिया बैंकको एटीएमबाट निकाल्न सकिने भएको छ । अब इसेवा प्रयोगकर्ताहरुले आवश्यक परेको खण्डमा एनआईसी एशिया बैंकको एटीएमबाट सजिलै पैसा निकाल्न सक्ने इसेवाले जनाएको छ ।
इसेवाका अनुसार यस अघि एभरेष्ट बैंक मार्फत प्रदान गर्दै आएको यो सुविधा इसेवाले हालै एनआईसी एशियामा पनि बिस्तार गरेको छ । एटीएमबाट नगद झिक्ने प्रक्रिया इसेवा वालेटबाट एनआईसी एशिया बैंकको एटीएममार्फत नगद निकाल्न दुई चरणको प्रक्रिया पूरा गर्नुपर्छ।
पहिलो चरण:
इसेवा एप खोल्ने,‘ATM Cash Out’ (एटीएम क्यास आउट) विकल्प चयन गर्ने,आवश्यक विवरण भरेर प्रक्रिया पूरा गर्ने ।
दोस्रो चरण:
इसेवाले दिएको ‘Transaction Code’ (प्रमाणीकरण नम्बर) प्राप्त गर्ने,नजिकैको एनआईसी एशिया बैंकको एटीएम पुग्ने,एटीएममा ‘Cardless Transaction’ (कार्डविनाको कारोबार) विकल्प चयन गर्ने,प्रमाणीकरण नम्बर र आवश्यक विवरण प्रविष्ट गरी नगद झिक्ने ।
इसेवाका रणनीतिक बैंकिङ तथा वित्तीय समाधान प्रमुख हेम घिमिरेका अनुसार यो सेवा सहज मात्र नभई अत्यन्तै सुरक्षित पनि रहेको छ।
इसेवा: नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा
सन् २००९ मा स्थापना भएको इसेवा नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो। यसको सेवा अहिले ७७ वटै जिल्लामा उपलब्ध छ। इसेवाले मोबाइल टपअप, बिजुली तथा खानेपानी महसुल तिर्ने, हवाई तथा बस टिकट बुकिङ, स्कूल-कलेज शुल्क तिर्ने, बीमा प्रिमियम, ब्लूबुक नविकरण, शेयर तथा डिम्याट खाता नविकरण जस्ता २,००० भन्दा बढी डिजिटल सेवा प्रदान गर्दै आएको छ।
अब एनआईसी एशिया बैंकको एटीएममार्फत नगद झिक्ने सुविधा थपिएसँगै इसेवा प्रयोगकर्ताहरूलाई अझ बढी सहजता र वित्तीय पहुँच मिल्ने विश्वास गरिएको छ।