नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक (जीएमडब्ल्यू) २०२५ मनाउने तयारी गरेको छ। बैंकका अनुसार आगामी चैत ४ देखि १० गतेसम्म यो कार्यक्रम आयोजना गरिनेछ। राष्ट्र बैंकका अनुसार, ग्लोबल मनी विकको उद्देश्य वित्तीय ज्ञान, सीप र व्यवहारको विकास गर्नु हो।
विशेषगरी बालबालिका र युवामाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। वित्तीय ज्ञानले बालबालिका र युवालाई जिम्मेवार आर्थिक निर्णय लिन सशक्त बनाउने राष्ट्र बैंकले जनाएको छ।
यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ देशका ६ करोडभन्दा बढी बालबालिका र युवासम्म पुगिसकेको छ। नेपालमा पनि राष्ट्र बैंकले विभिन्न वित्तीय संस्थासँग सहकार्य गरी कार्यक्रमहरू सञ्चालन गर्ने बताएको छ।
बैंकका अनुसार, वित्तीय साक्षरता नबढाएसम्म व्यक्तिगत र राष्ट्रिय स्तरमा आर्थिक समृद्धि हासिल गर्न कठिन हुन्छ। त्यसैले, जीएमडब्ल्यू २०२५ अन्तर्गत बैंक, वित्तीय संस्था, विद्यालय, विश्वविद्यालय र अन्य सरोकारवाला निकायहरूलाई समेटेर विभिन्न वित्तीय सचेतनामूलक कार्यक्रमहरू गरिनेछ।
राष्ट्र बैंकले वित्तीय साक्षरताका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै, विशेषगरी युवा पुस्तालाई वित्तीय ज्ञानप्रति अभिप्रेरित गर्ने लक्ष्य राखेको जनाएको छ।