ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमीहरूलाई लक्षित गरी ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ। विशेष गरी महिला उद्यमीहरूको वित्तीय सहजताका लागि ल्याइएको यस कर्जाले रोजगारी सिर्जना, सामाजिक विकास र स्थानीय समुदायको आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने बैंकले जनाएको छ।
बैंकले कृषि, उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रमा सञ्चालन भएका घरेलु, साना तथा मझौला उद्योगलाई प्राथमिकता दिँदै महिलाहरूलाई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने योजना बनाएको छ। यस योजनाअन्तर्गत महिलाहरूले न्यूनतम ब्याजदरमा १० करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। यद्यपि, कर्जा लिनका लागि सम्बन्धित व्यवसायमा महिलाहरूको कम्तीमा ५० प्रतिशत स्वामित्व तथा उनीहरूको नै नेतृत्व हुनु पर्नेछ।
यस कर्जा योजनासँगै ग्लोबल आइएमई बैंकले उद्यमशीलता प्रवर्द्धन गर्न ‘उद्यमी डिजिटल उपहार’ पनि प्रदान गर्ने जनाएको छ। महिला व्यवसायीहरूको वित्तीय पहुँच बढाउन बैंकले विभिन्न सहुलियतपूर्ण सुविधा समेत उपलब्ध गराउनेछ।
ग्लोबल आइएमई बैंकले हालै ‘ग्लोबल फाइनान्स बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ प्राप्त गरेको छ। बैंकले अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट समेत सम्मान प्राप्त गरिसकेको छ।
नेपालभर ७७ वटै जिल्लामा सेवा विस्तार गरेको बैंकका ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालय छन्। बैंकले १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवा मात्र नभई विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स भित्र्याउँदै आएको बैंकले जनाएको छ।