हिमालयनको पाकिस्तानी सेयर बिक्रीको अनुमति नदिएको स्पष्टोक्ति, रोकियो तीन अर्बको सेयर डिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2025 | 06:47:31 AM मा प्रकाशित

नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको पाकिस्तानी साझेदार हविव बैंक लिमिटेडको सेयर बिक्रीलाई अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय विभिन्न सञ्चार माध्यममा राष्ट्र बैंकले सेयर बिक्री स्वीकृति दिएको समाचार आए पनि त्यो भ्रामक भएको राष्ट्र बैंकले जनाएको हो।

राष्ट्र बैंकका प्रवक्ता तथा बैंक सुपरिवेक्षण विभागका विभागीय प्रमुख रामु पौडेलले हविव बैंकको ११ प्रतिशत संस्थापक सेयर नेपाली कम्पनी हिमालयन रि-इन्स्योरेन्सलाई बिक्री गर्न अनुमति नदिएको बताए। उनका अनुसार, यस्तो सेयर कारोबारका लागि ‘फिट एन्ड प्रोपर टेस्ट’ अनिवार्य हुन्छ, तर हालसम्म सो प्रक्रिया पूरा गरिएको छैन।

२०७८ वैशाखमा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच प्रारम्भिक मर्जर सम्झौता भए पनि त्यो निष्कर्षमा पुग्न सकेन। त्यसपछि हिमालयन बैंकले सिभिल बैंकलाई गाभेर कारोबार सुरु गर्‍यो। मर्जरपछि संस्थागत संरचना परिवर्तन हुँदा हविव बैंकको सेयर हिस्सा २० प्रतिशतबाट घटेर ११ प्रतिशतमा झरेको थियो।

विदेशी स्वामित्व हटाउने रणनीति अनुरूप हिमालयन बैंकले सो सेयर नेपाली लगानीकर्ताको कम्पनी हिमालयन रि-इन्स्योरेन्सलाई साढे तीन अर्ब रुपैयाँमा बिक्री गर्न प्रस्ताव गरेको थियो। उक्त कम्पनीमा शेखर गोल्छा, शाहिल अग्रवाल, दीपक भट्टजस्ता उद्योगी–व्यवसायीहरूको लगानी रहेको छ।

तर, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वीकृति दिन अस्वीकार गरेपछि सेयर कारोबार प्रक्रिया रोकिएको हो। राष्ट्र बैंकको यो निर्णयले न केवल विदेशी लगानी घटाउने बैंकको प्रयासलाई चुनौती दिएको छ, तर स्वामित्व व्यवस्थापनको भविष्य पनि अन्योलमा पारेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved