
देशका २० वाणिज्य बैंकमध्ये बैशाख महिनामा ब्याजदर समायोजनको क्रममा तीन बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एक बैंकले भने उल्टो रूपमा ब्याजदर वृद्धि गरेको छ। बाँकी १६ वाणिज्य बैंकले भने चैत महिनाकै ब्याजदरलाई यथावत राखेका छन्।
कुमारी बैंकले ०.०९, सानिमा बैंकले ०.१ र नेपाल बैंकले ०.३५ प्रतिशतविन्दुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। विश्लेषकहरूका अनुसार, यो कटौती बैंकहरूको तरलता स्थिति सहज बन्दै गएको संकेत हो। तर, एभरेष्ट बैंकले भने ०.६१ प्रतिशतविन्दु ब्याजदर बढाएर प्रतिस्पर्धी रणनीति अवलम्बन गरेको देखिएको छ।
यस्तो अवस्थामा २० वाणिज्य बैंकहरुको औषत ब्याजदरमा जम्मा ०.००३५ प्रतिशतविन्दु मात्र वृद्धि देखिएको छ। यसले ब्याजदरमा हाल स्थायित्व देखिएको संकेत दिन्छ। तर, केही बैंकहरुले अपनाएको फरक रणनीतिले बैंकिङ प्रणालीमा एकरूपता नभएको स्पष्ट हुन्छ।
संस्थागत मुद्दति निक्षेपतर्फ भने औषत ब्याजदर ०.०६४ प्रतिशतविन्दु घटेको छ। आठ वटा बैंकहरुले यस्तो निक्षेपमा ब्याजदर घटाएका छन् भने एभरेष्ट बैंकले मात्र संस्थागत निक्षेपमा पनि वृद्धि गर्दै आक्रामक रणनीति देखाएको छ।
ब्याजदरमा देखिएको यो विविधता बैंकहरूको तरलता, लगानीकर्ताको विश्वास र प्रतिस्पर्धाको रणनीतिलाई झल्काउने संकेतक बनेको छ। एकातिर कटौती, अर्कातिर वृद्धिले अबको महिनाहरूमा ब्याजदर कुन दिशातर्फ जान्छ भन्नेबारे बजारमा नयाँ जिज्ञासा थपिएको छ।