सिटिजन्स बैंकद्वारा सडक आश्रीत घरबारविहीनलाई भोजन र निःशूल्क स्वास्थ्य शिविर संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2025 | 07:20:17 PM मा प्रकाशित

nepal oil ltd

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उल्लेखनीय कार्यक्रमहरू सञ्चालन गरेको छ । बैंकले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका करिब १ हजार ९०० घरबारविहीन तथा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई १८ दिनसम्म निःशुल्क भोजन उपलब्ध गराएको छ ।

भोजन वितरण कार्यक्रम चैत्र २०, २०८१ देखि वैशाख ६, २०८२ सम्म सञ्चालन भएको थियो । भोटुस्इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल र गौशाला आसपासका नदी किनार, सडक छेउ र पुलमुनी आश्रय लिएका व्यक्तिहरुलाई सो सेवा प्रदान गरिएको हो ।

यसैबीच, बैंकले चैत्र २ गतेदेखि वैशाख ५ गतेसम्म सातवटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । कोशीको हल्दिबारी र महेन्द्रचोक, मधेशको विद्यापति चोक, बागमतीको बुढानीलकण्ठ, गण्डकीको अमरापुरी, लुम्बिनीको जीतपुर र हस्पिटल लाइन, कर्णालीको श्रीनगर र दुल्लु तथा सुदूरपश्चिमको महेन्द्रनगरमा आयोजित शिविरहरूबाट करिब १७ सय जना बिरामी लाभान्वित भएका छन् ।

बैंकले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक रूपान्तरणमा क्रियाशील संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ । आगामी दिनमा समेत आर्थिक, सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम अगाडि बढाउने योजना रहेको बैंकले जनाएको छ ।

हालै बैंक अफ द इयर २०२४ को उपाधि जित्न सफल बैंकले फोनपेसँगको सहकार्यमा नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सार्वजनिक गरेको थियो । साथै, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा ऋण सम्बन्धी सेवा उपलब्ध गराउने सुविधा पनि पहिलोपटक ल्याएको हो ।

सिटिजन्स बैंकले हाल ६१ जिल्लामा २०० शाखा, १६८ एटीएम, ७४ शाखारहित बैंकिङ इकाइ तथा ३ विस्तारित काउन्टरमार्फत १८ लाख ७९ हजार ग्राहकलाई सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved