
नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर नीलम ढुंगाना तिमल्सिनाले कर्जा प्रवाहमा आएको सुस्तता र पुँजीगत खर्चमा देखिएको न्यूनताले नेपाली अर्थतन्त्रलाई चुनौती दिएको बताएकी छन्। आइतबार सम्पन्न राष्ट्र बैंकको ७०औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले हाल अर्थतन्त्रका केही आधारभूत सूचक सकारात्मक भए पनि सुधारका महत्वपूर्ण पक्षमा चुनौती कायमै रहेको स्पष्ट पारेकी हुन्।
उनले भनिन्, “नेपालको बाह्य क्षेत्र सबल बन्दै गएको छ। तर, निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु र पुँजीगत खर्च नबढ्नु अर्थतन्त्रका ठूला चुनौती हुन्। चालू आर्थिक वर्षबाट सबै स्थानीय तहमा बैंकका शाखा कार्यालय पुगेको र वित्तीय पहुँचमा सुधार आएको छ । राष्ट्र बैंकले सहुलियतपूर्ण नीति तथा विभिन्न क्षेत्रगत कार्यक्रममार्फत सुधार ल्याउने प्रयास गरिरहेको छ।”
कार्यक्रममा ढुंगानाले सरकारले पुँजीगत खर्चलाई बढाउने र निजी क्षेत्रलाई कर्जा प्रवाह सहज बनाउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरेकी छन्। उनले वित्तीय क्षेत्रमा जोखिम व्यवस्थापन र सुदृढता कायम राख्न पनि राष्ट्र बैंकले ठोस रणनीति बनाइरहेको जानकारी दिइन्।
उनले थप भनिन्, “वित्तीय प्रणालीमा स्थायित्व ल्याउन र समग्र आर्थिक वृद्धिमा योगदान पुर्याउन राष्ट्र बैंकले दीर्घकालीन नीतिगत सुधारमा जोड दिइरहेको छ।”
ढुंगानाले निजी क्षेत्रको लगानी बढाउनका लागि कर्जाको पहुँच सहज बनाउने र सरकारले पुँजीगत खर्चको गति तेज बनाउनेतर्फ गम्भीर पहल आवश्यक रहेको औंल्याएकी छन्। राष्ट्र बैंकको भूमिकालाई अझ प्रभावकारी बनाउन नीति, नियम र सुपरिवेक्षण प्रणाली सुदृढ बनाइने पनि उनले जानकारी दिइन्।