
नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले सोमबार एक सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आवेदन दिन आह्वान गरेको छ। इच्छुक संस्थाहरूले बुधवार राति १२ बजेसम्म आवेदन दिनुपर्नेछ।
राष्ट्र बैंकका अनुसार उक्त रकम मे १७, २०२५ देखि मे १७, २०२६ सम्मका लागि ३६६ दिन मुद्दती निक्षेपमा राखिनेछ। प्रस्तावित ब्याजदरसहित आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूमा ३ अर्ब ७ करोड ५२ लाख, ‘ख’ वर्गका विकास बैंकहरूमा ५७ करोड ६५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा १९ करोड २१ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने योजना बनाएको छ।
राष्ट्र बैंकले यसका लागि केही शर्तहरू पनि तोकेको छ। शर्तअनुसार सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, सञ्चालनमा कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत तथा खुद एनपीएल अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ।