आयातमा प्रतिबन्धित ‘इनर्जी ड्रिंक्स’ नेपाली बजारमा कसरी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 25, 2020 | 09:41:00 PM मा प्रकाशित

laxmi  sunrise bank

इनर्जी ड्रिंक्सको बिक्रि भईरहेपनि कहाँबाट कसरी आयात भईरहेको छ भन्नेबारे सरकारी निकाय बोल्न चाहेका छैनन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलले सबै प्रकारका शक्तिवद्र्धक पेयपदार्थको आयातमा रोक लगाएको असार ३ गते एक वर्ष पुगेपनि बजारमा आउन भने छोडेका छैनन् । भन्सार विभागको पछिल्लो तथ्यांकमा पनि इनर्जी ड्रिंक्स नै भनेर बस्तुको आयात भएको देखाईएको छैन ।

बलपूर्वक रोकेको बस्तु बजारमा कसरी ?

पूर्व उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले आफू मन्त्री हुँदा निकै बल लगाएर सबै प्रकारका शक्तिवद्र्धक पेयपदार्थको आयातमा प्रतिबन्ध लगाएको दाबी गरेका छन् । नेपाली उद्योगलाई आधारभूत संरक्षण दिने उदेश्यले यस्ता पदार्थको आयात रोकिएको भएपनि अहिले बजारमा देखिनु गलत भएको उनको भनाई छ । 

‘अहिले वैध बाटोबाट आएको छ की, अवैध बाटोबाट’ उनले भने, ‘आयात प्रतिवन्ध लगाईएका बस्तुहरु किन र कसरी आयात भइरहेका छन् भनेर बोल्ने निकाय छन्, ती निकायलाई नै सोध्नुहोस् ।’ 

पूर्वमन्त्री यादवले क्याफिनयुक्त सबै प्रकारका शक्तिवद्र्धक पेयपदार्थको आयात प्रतिवन्ध लगाउने निर्णय गर्दा निकै ठूलो दबाब सहनुपरेको पनि बताएका छन् । 

‘भित्रभित्रै आयात भएको हुनसक्छ’

बजारमा इनर्जी ड्रिंक्सको बिक्रि भईरहेको बारे वाणिज्य विभागले आफू जानकार रहेको बताएको छ । मल्टिनेशनल कम्पनीबाट उत्पादित इनर्जी ड्रिंक्स आयात भईरहेको हुन सक्ने अथवा कच्चा पदार्थ मात्रै ल्याएर यही उत्पादन भएको हुन सक्ने विभागका महानिर्देशक नेत्र सुवेदी बताउँछन् ।

‘आयात भएको हो भने भन्सारको तथ्यांकमा देखिनुपर्यो, होइन भने कसरी आयात भएको छ भनेर खोज्नुपर्ने हुन्छ’ उनले भने, ‘बजारमा देखिने तर तथ्यांकमा नदेखिने हुँदा भन्सारमै केही गडबढी हो की भनेर शंका गर्नुपर्ने अवस्था पनि आउँछ ।’

भन्सारको तथ्यांकमा नदेखिएकाले यसबारे आफूले अहिले नै यस्तै हो भनेर भन्न नसक्ने उनको भनाई छ । उनले खराब प्रवृत्तिका कारण कालोबजारी गर्ने नियतले कसैले ल्याएको जानकारी पाए कारबाही गर्ने पनि बताए । बजारमा भेटिएको जानकारी पाए भन्सार विभाग, कर कार्यालय र वाणिज्य विभाग मिलेर अनुगमन गर्नुपर्ने उनको भनाई छ । वाणिज्य विभाग एक्लैले यसबारे अध्ययन गरेपनि एक्सनमा जान भने सबै निकायबीच समन्वय हुनुपर्ने उनको भनाई छ ।

पैठारी बन्द छ, कसरी आउँछ ?

भन्सार विभागले भने सरकारले इनर्जी ड्रिंक्सको आयातमा पूर्ण रुपमा बन्देज लगाएका कारण आउँदै नआएको बस्तुको तथ्यांक कसरी हुन्छ भन्दै प्रश्न गरेको छ । विभागका सूचना अधिकारीसमेत रहेका निर्देशक शिशिर घिमिरेले सरकारले आयात रोक्ने निर्णय गर्नुभन्दा अगाडी नै आयात भएको स्टक बजारमा देखिएको हुन सक्ने तर अहिले आयात भने नभएको बताएका छन् ।

‘आयात रोक्ने निर्णय हुनुभन्दा अगाडी नै आएको स्टक बजारमा देखिएको हो की, लकडाउन अघि बजारमा फाट्टफुट्ट हामीले पनि देखेका हौँ’ घिमिरेले भने, ‘अहिले छ की छैन, थाहा छैन ।’ उनले भन्सारबाट पैठारी नभएको बस्तु बजारमा देखिए वाणिज्य विभागले अनुगमन गर्दा सहयोग गर्न भन्सार विभाग तयार रहेको पनि बताए । 

जोर्डन, थाइल्याण्ड र यूएई लगायतका देशबाट पेय पदार्थ (जुस) को आयात हुँदै आएको छ । यी देशबाट चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ५० लाख बढीको तयारी जुस आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । सरकारले इनर्जी ड्रिंक्सको आयातमा प्रतिवन्ध लगाएपनि बजारमा भने विदेशी इनर्जी ड्रिंक्सको बिक्रि बढिरहेको छ । 

२०७६ जेष्ठ १० गतेको मन्त्रिपरिषद्ले निकासी पैठारी सम्बन्धि अयाँ आदेश जारी गर्ने निर्णय गरेअनुसार २०७६ असार ३ गते मंगलबार उद्योग मन्त्रालयले इनर्जी ड्रिंक्सको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved