कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेज अफ आइ टि एण्ड इकमर्सद्वारा आयोजित चार दिने आइ.ओ.टि. प्रदर्शनी सम्पन्न भएको छ । फागुन २८ गते देखि ४ दिन सम्म चलेको प्रदर्शनीमा ५ हजारले अवलोकन गरेको आयोजकले बताएको छ ।
प्रदर्शनीमा अटोनोमस भेइकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहत ब्यवस्थापन, रोबटिक हात लगायत ३० वटा प्रोजेक्टको नमुना प्रदर्शनी गरिएको थियो । स्मार्ट सवारी नेपालमा कलेज स्तरमा पहिलो पटक निर्माण गरिएको कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए । प्रदर्शनीमा राखिएका स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वरिका कलेजमा कम्प्यूटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेका हुन् ।
विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनी गरिएको कलेजका प्रिन्सिपल प्रमोद पौडेलले बताए । निशुल्क प्रवेश रहेको प्रदर्शनीमा राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आइटि क्षेत्रका जिज्ञाशुले अवलोकन गरेका छन् ।
बेलायतको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको सफ्ट्वेरिका कलेजले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब समेत तयार गरेको छ। हालको प्रदर्शनी सोही इनोभेसन हवमै विद्यार्थीहरुले तयार गरेका हुन् ।
आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले ब्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने ब्यबस्था गरिएको कलेजका निर्देशक अमृत थापाले बताए ।