स्लोभाकियामा उड्ने कारको परीक्षण सफल भएको छ । बीएमडब्लुको इन्जिन र साधारण पेट्रोलबाट सञ्चालन हुने यो ‘एयर कार’ ले सोमबार सहरका दुई विमानस्थल नित्रा र ब्रातिस्लाभामा परीक्षणका लागि भ्रमण गरेको हो ।
यो कार क्लेइन भिजन कम्पनीअन्तर्गत प्रोफेसर स्टेफन क्लेइनले निर्माण गरेका हुन् । उनका अनुसार यो ८ हजार २ सय फिट (२५ सय मिटर) को उचाइसम्म झन्डै १ हजार किलोमिटर उड्न सक्छ । साथै यसलाई विमानबाट साधारण कारमा परिणत हुन २ मिनेट १५ सेकेण्ड लाग्छ ।
सोमबार गरिएको परीक्षणमा यो कार १६०.९ किलोमिटर प्रतिघण्टा गतिमा ८ हजार फिटको उचाइमा पुग्न सफल भएको थियो भने ३५ मिनेटको उडानपछि विमानस्थलमा अवतरण गरेर भूइँमा पनि गुडेको थियो । यो कारले दुई जना मानिससहित २०० केजी तौल बोक्नसक्ने जनाइएको छ । तर ड्रोन ट्याक्सी प्रोटोटाइपको विपरित, यसले ठाडो उडान लिन र ठाडो उत्रन सक्दैन र रनवे आवश्यक पर्दछ ।
एयरकार निर्माता कम्पनी क्लेइन भिजनले २ वर्षमा २ मिलियन यूरो लागतमा उड्ने कारको प्रोटोटाइप निर्माण गरेको उल्लेख गरेको छ । कुनै विशेष तालिमको आवश्यकता नपर्ने गरी सबै पाइलट वा चालकलाई पहुँच दिलाउन सकिने गरी यसको डिजाइन गरिएको निर्माता कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सेल्फ–ड्राइभिङ यात्राका साथै व्यावसायिक ट्याक्सी सेवाका रुपमा समेत प्रयोगमा ल्याउन सकिने गरी एयर कार डिजाइन गरेको तर हालसम्म व्यावसायिक प्रयोगका लागि स्वीकृत नभएकाले यसको अनुमानित मूल्य भने खुलाइएको छैन ।
यसको भविष्यमा ठूलो बजार रहने बताउँदै क्लेइन भिजनका सल्लाहकार एवं लगानीकर्ता एन्टोन जाजाकले कम्पनीले विश्वव्यापी एयरलाइन वा ट्याक्सी व्यवसायको थोरै प्रतिशत पनि आकर्षित गर्न सक्यो भने त्यो पनि निकै सफल हुने बताए । ‘संयुक्त राज्य अमेरिकामा मात्र एयरक्राफ्टको ४० हजार अर्डर रहेको छ,’ उनले भने, ‘त्यसको ५ प्रतिशतलाई मात्र हामीले कन्भर्ट गर्न सक्यौं भने हामीसँग ठूलो बजार हुनेछ ।’
–एजेन्सीको सहयोगमा