यस्ता छन् ‘एफवान सफ्ट आइसिटी अवार्ड’ का उत्कृष्ट स्टार्टअप र राइजिङ स्टार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2021 | 02:24:07 PM मा प्रकाशित

laxmi  sunrise bank

लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अवार्ड ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ मा विभिन्न स्टार्टअप, प्रडक्ट तथा इन्नोभेसनहरूको प्रतिस्प्रधा जारी छ । 

४० बढी स्टार्टअपहरूबाट विभिन्न ४ चरणको छनौट पश्चात् उत्कृष्ट ५ स्टार्टअपहरू अहिले सर्वोत्कृष्ट क्याटेगोरी विजेताको लागि प्रतिस्पर्धामा छन् । यसैगरी ३५ बढी प्रडक्टहरूबाट छानिएर उत्कृष्ट ५ प्रडक्ट र ६० बढीबाट छानिएका उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसनहरू विजेताको लागि पब्लिक भोेटिङमा सहभागी भएका छन् । 

यी तीन विधाको विजेताका लागि मंसिर २२ गतेसम्म ई–सेवा र एसएमएसमार्फत पब्लिक भोटिङ सञ्चालनमा रहेको छ । यसैगरी उतकृष्ट १० मा पर्न सफल ३ विधाका प्रतिस्पर्धीको लागि पब्लिक च्वाइस आइसिटी अवार्ड विधामा पनि भोटिङ सञ्चालनमा छ । यसैगरी अन्य ८ वटा अवार्ड विधाको लागि विभिन्न चरणका छनौट प्रक्रियाहरू सञ्चालनमा छन् । अवार्डको ग्राण्ड फिनाले पुस २ गते द सोल्टी होटलमा आयोजना हुनेछ । प्रतिस्पर्धामा रहेका उत्कृष्ट ५ र पब्लिक च्वाइसमा विजेता बनाउनको लागि ई–सेवा र एसएमएस मार्फत भोट गर्न सकिन्छ । 

छैटौं संस्करणको रूपमा आयोजना हुन लागिरहेको आइसिटी अवार्डमा एफवान सफ्टले शीर्ष प्रायोजन गरेको छ । नेपाल टेलिकम, जिनसको इन एसोसिएसन, एनटिए, एनसेल, राष्ट्रिय वाणिज्य बैंक, प्रेसिडेन्सियल बिजनेश स्कुल, डिसहोम फाइबरनेट, इमिनेन्स वेइज, रिसेक्युरिटी, डाइनामिक इआरपी, एप्लाइजब, फ्युज मेसिन्स, टेक्सास कलेज लगायतको सहकार्य तथा सहयोग रहेको छ ।  

‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’का उत्कृष्ट ५ स्टार्टअपहरू

डुलुवा एक्सपेडिसन प्रा.लि.

सन् २०१९ मा स्थापना भएको डुलुवा एक्सपेडिसन प्राइभेट लिमिटेड एक सामाजिक यात्रा र पर्यटन उद्योगको डिजिटल प्लेटफर्म हो, जसले ट्राभल एजेन्सी र सञ्चालकहरूलाई आफ्नो प्याकेजहरू अन्तर्राष्ट्रिय बजारमा बेच्न र नेपालको पर्यटन उद्योगको डिजिटल उपस्थितिलाई प्रवद्र्धन गर्दछ । 

यसको मुख्य उद्देश्य नेपालको प्रकृति, समुदाय, संस्कृति र खानाको प्रवद्र्धन गर्नु हो । डुलुवा डटकमले सन् २०२५ सम्ममा नेपालमा ट्राभल समाधानका लागि ‘वन स्टप सोलुसन’ बन्ने लक्ष्य राखेको छ । कम्पनीमा अहिले ७ जनाको समूह रहेको र अधिकांश कामहरू भर्चुअल रूपमा सञ्चालन गर्दै आइरहेको छ । 

हाउस अफ बुक्स प्रालि

हाउस अफ बुक्स सन् २०२० मा कलेजमा अध्ययनरत विद्यार्थीद्वारा स्थापित भएको कम्पनी हो । हाउस अफ बुक्सबाट आफूलाई आवश्यक पुस्तकहरू खरिद गर्न सकिन्छ । यसले उपन्यास, कथाका पुस्तकहरूसँगै कलेज तथा विद्यालयलाई चाहिने आवश्यक पुस्तकहरू उपलब्ध गराइरहेको छ ।

यसबाट सेकेन्ड–ह्यान्ड बुक पनि खरिद गर्न सकिन्छ । यसले गर्दा शिक्षाको लागि उच्च गुणस्तर र कम लागतमा पुस्तकहरू पाइने तथा दिगोपन र हरित व्यापार प्रवद्र्धन गर्न मद्दत पुग्ने कम्पनीको भनाइ छ । हाउस अफ बुक्समा एक हजारभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् । मिनभवन काठमाडौंमा रहेको कार्यालयमा ८ जनाको समूह क्रियाशील रहेको छ । 

खेती भेन्चर प्रालि

खेती भेन्चर नेपालको कृषि–फुड–टेक इकोसिस्टम र अन्य विकासोन्मुख अर्थतन्त्रहरूमा अग्रणी परिवर्तन निर्माता बनेर दिगो खाद्य प्रणालीमा योगदान पु¥याउने लक्ष्यका साथ स्थापना भएको कम्पनी हो । खेती भेन्चरको खेती फुड डटकमबाट अनलाइन फलफूल तथा फुड अर्डर गर्न सकिन्छ । 

कम्पनीले खेती फार्म एप पनि सञ्चालनमा ल्याएको छ, जसले बीउ, मल, कीट जाल, आदि जस्ता कृषि इनपुट आपूर्तिहरूको ट्र्याक गर्ने र पारदर्शी मूल्य निर्धारण गर्ने गर्दछ । यसले कृषक र कृषि विज्ञ तथा वैज्ञानिकहरूलाई जोड्ने काम पनि गरेको छ । हाल काठमाडौं र पोखरामा सेवा दिइरहेको कम्पनीले ३० जनाभन्दा बढीलाई रोजगारी दिएको छ ।

निर्माण साथी टेक्नोभेसन प्रालि

निर्माण साथी टेक्नोभेसनले घर, अफिसको लागि चाहिने आवश्यक सेवाहरू अनलाइन तथा फोनमार्फत उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीले मुख्यगरी सिपेज उपचार र आन्तरिक डिजाइन सेवा दिँदै आएको छ  । यसका साथै निर्माण साथीले आर्किटेक्ट, इन्जिनियर, प्लम्बरदेखि चित्रकार र इन्टेरियर डिजाइनरसम्मका सेवाहरू पनि प्रदान गर्दछ । 

निर्माण साथीमा अहिले एक हजारभन्दा बढी ग्राहकहरू रहेका छन् । दैनिक ५ देखि १० जनालाई सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले काठमाडौंसँगै अन्य शहरहरू र अष्ट्रेलियामा पनि आफ्नो सेवा विस्तार गर्ने योजना अनुरूप काम गरिरहेको छ । पुरानो बानेश्वरमा रहेको कम्पनीले १० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी र दर्जनौंलाई काम गरेबापतको सेवाशुल्क उपलब्ध गराउँदै आइरहेको छ । 

पु¥याउ सर्भिसेज प्रालि

पु¥याउ सेवा नेपालको एक लोजिस्टिक कम्पनी हो ।  कम्पनीले देशका ३५ स्थानमा आफ्नो शाखा स्थापना गर्दै काम गरिरहेको छ । कम्पनीले कुनै साना व्यवसाय, अनलाइन सपिङलाई र अन्य व्यवसायलाई लोजिस्टि सेवा दिने गर्दछ । अहिले दैनिक ५ सय बढी सामानहरू २४ घन्टाभित्र डेलिभरी सेवा उपलब्ध गराइरहेको कम्पनीको दाबी छ । कम्पनीले अनलाइन र अफलाइनमा लजिस्टिक म्यानेजमेन्ट सिस्टम लगायत विभिन्न सफ्टवेयर तथा टुल्सहरू प्रयोग गरिरहेको छ । कम्पनीले ३५ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी र सयौंलाई डेलिभरी सेवाको लागि रोजगारीको वातावरण सृजना गरेको छ । 

‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’का उत्कृष्ट ५ प्रडक्टहरू

बगभी

बगभी एक बग बाउन्टी प्लेटफर्म हो, जसले विश्वभरका सुरक्षा विशेषज्ञ र अनुसन्धानकर्तालाई व्यवसायसँग जोड्नलाई अवसर प्रदान गर्ने गर्दछ । साइबर सुरक्षा अनुसन्धानकर्ताले बगभीमा आबद्ध भएका कम्पनीको सिस्टममा समस्या पत्ता लगाएर आम्दानी गर्न सक्छन् । 

अहिले  दर्जनौं अनलाइन सर्भिस तथा ई–कमर्श कम्पनीहरू यस प्लाटफर्ममा जोडिएका छन् । बगभीले सन् २०२२ सम्म एशियाली बजारमा सेवा विस्तार गर्ने र ए सिरिजको फण्ड जुटाउने योजना बनाएको छ भने सन् २०२५ सम्ममा अमेरिकी बजारमा प्रवेश गर्ने र सिरिज बी कोष प्राप्त गर्ने योजना पनि बनाएको छ ।

आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम

आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम वितरण कार्यहरूको पूर्ण डिजिटल सोलुसन हो । यसमा सेल्स व्यवस्थापन, लेखा व्यवस्थापन, सूची नियन्त्रण, रिपोर्ट विश्लेषण, ग्राहक र आपूर्तिकर्ता व्यवस्थापन र एपिआई एकीकरणको सुविधा समावेश छन् । यसमा आवश्यकता अनुसार सेवाहरू थप गर्न सकिन्छ । यो एक वेबमा आधारित प्लेटफर्म हो, जसले उत्पादक÷आयातकर्तादेखि खुद्रा विक्रेतासम्म सम्पूर्ण वितरण सामानहरूको ट्र्याकिङ र मर्मतसम्भार सुनिश्चित गर्ने गर्दछ । आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम सफ्टवेयर अनलाइन र अफलाइन दुवै मोडमा प्रयोग गर्न सकिन्छ । अहिले भाटभटेनी लगायतका स्टोरहरूमा डिजिटल पेमेन्ट समेत इन्टिग्रेट गरी यसको प्रयोग भइरहेको छ । 

मिखा

मिखा नयाँ पुस्ताको भिडियो कोलाबोरेसन प्रडक्ट हो । यसले भर्चुअल रूपमा ग्राहकहरूसँग सम्पर्कमा रहन फेस–टु–फेस सेवा प्रदान गर्छ । खुला एपीआईको कारण प्रडक्टलाई विएफएसआई आवश्यकताहरू अनुसार कस्टोमाइज गरेर कुनै पनि संख्यामा यसको विस्तार गर्न सकिन्छ । मिखाले ग्राहकहरूलाई भर्चुअल शाखा अनुभव प्रदान गर्न र अधिकांश सबै बैंकिङ कारोबारहरू भर्चुअल रूपमै सञ्चालन गर्न मद्दत गर्दछ । बहु–सहभागी भिडियो कलहरू, अनुहार पहिचान गर्ने प्रणाली, एकीकरण, हस्ताक्षर प्रमाणीकरण, भौगोलिक स्थान, र क्लाउड÷अन–प्रेम रेकर्डिङ जस्ता केही महत्वपूर्ण सुविधाहरू मिखामा रहेका छन् ।

प्लान्टस्याट 

प्लान्टस्याट एक निःशुल्क डिजिटल प्लेटफर्म हो, जसले किसानको उपज र वित्तीय प्रतिफल उल्लेखनीय रूपमा बढाउन सक्छ । कम्पनीले निःशुल्क स्याटेलाइट डेटा प्रयोग गरेर जलवायु र मौसम डेटासँग एकीकृत गरी विश्वव्यापी किसानहरूलाई रंगीन नक्साहरूको रूपमा वास्तविक समय विश्लेषणहरू प्रदान गर्ने गर्दछ । यो प्रविधिले भविष्यमा देखा पर्न सक्ने कुनै पनि विश्वव्यापी संकटको सामना गर्न प्रणालीको लचिलोपन सुनिश्चित गर्दै कृषि नाफालाई अधिकतम बनाएर तत्कालै संकटबाट मुक्त हुन किसानहरूलाई मद्दत गर्ने गर्दछ । प्लान्टस्याटले किसान, अनुसन्धानकर्ता र सरोकारवालालाई रंगीन नक्साहरू प्रयोग गरेर बालीनाली निगरानी, नाइट्रोजन उर्वरक दक्षता, पानीको उपयोग दक्षता, जीपीएस रूटिङ, विज्ञसँग कुरा लगायका सुविधा प्रदान गर्दछ । जिपिएस रूटिङमा प्लान्टस्याटले अफलाइन कार्यक्षमता प्रदान गर्छ जसले गर्दा इन्टरनेट जडान नभएका दुर्गम ठाउँहरूमा पनि प्रयोगकर्ताहरूले सेवा लिन सक्छन् ।

सायक

सायक एक एकीकृत सफ्टवेयर प्रणाली हो । यसले नेपाली लेखन शैलीलाई सजिलो बनाउने गर्दछ । यसमा नेपाली टाइपिङ, फन्ट रूपान्तरण, हिज्जे जाँच, बृहत् शब्दकोष जस्ता सुविधा यसमा छन् । यो नेजुरल ल्याङ्वेज प्रोसेसिङ तथा मेशिन लर्निङमा आधारित प्रडक्ट हो । यो सेवा हाल निःशुल्क उपलब्ध रहेको छ । नेपाली बृहत् शब्दकोष र नेपाली ल्याङ्वेज रिसोर्स सेन्टर यस प्रडक्टका महत्वपूर्ण विशेषता हुन् । हाल यस प्लेटफर्ममा कर्पोरेट समाचार एजेन्सी, अनलाइन समाचार मिडिया, प्रकाशन गृह र सरकारी कार्यालय सहित हजारौं नियमित प्रयोगकर्ता छन् ।

उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसनहरू

आस्क म्याट्ररब

आस्क म्याट्ररबले नेपालभरका विद्यार्थीहरूका लागि निःशुल्क शैक्षिक स्रोतहरू उपलब्ध गराउने गर्दछ । आस्क म्याट्ररबले विद्यार्थीहरू आफैंले सिर्जना गरेका कन्टेन्टहरू प्रयोग गरेर डिजिटल लर्निङको ग्यापलाई पूरा गर्ने लक्ष्य राखेको छ । आस्क म्याट्ररबमा आफूले नजानेको विषयमा प्रश्न पनि सोध्न सकिन्छ । आस्क म्याट्ररबमा विद्यार्थीहरूले आफ्नो बारेमा, यात्रा, अनुभवहरू पनि शेयर गर्न सक्छन् । हाल आस्क म्याट्ररबसँग मासिक ३० हजार पाठक र १५ सय पढ्ने सामग्रीहरू छन् । रविनकुमार कालीकोटे, प्रणिश खनाल, इशान पन्त, आकृति कार्की र जुन शाक्यले आस्क म्याट्ररबको स्थापना गरेका हुन् ।

आइओटी बेस्स्ड इकोनोमिकल एयर प्युरिफायर फर द ग्लोबल साउथ

यो परियोजना स्वचालित हावा शुद्धीकरण प्रणालीको लागि इन्टरनेट अफ थिंग्स (आईओटी) मा आधारित छ । यसमा जडान गरिएको डिस्प्लेमा हावाको गुणस्तर मापन देखाउँछ र प्रदूषण स्वस्थ स्तरभन्दा बढी हुँदा स्वचालित रूपमा सञ्चालन हुन्छ । यो उपकरण वायुको गुणस्तर स्वस्थ स्तरमा पुगेपछि आफैं बन्द हुने गर्दछ । परियोजनासँग सर्भरमा आधारित डेटाबेस छ, जुन स्थानीय र क्षेत्रीय स्तरको डेटालाई अनुसन्धान, अध्ययन, सञ्चालन गर्न र प्रभावकारी उपायहरूमा अनुगमन गर्न प्रयोग गर्न सकिन्छ । ग्यास डिटेक्टरहरू जस्तै अन्य मोड्युलहरू थपेर हानिकारक र रासायनिक ग्यासहरू पनि पत्ता लगाउन सकिन्छ भने मानिसहरूलाई सचेत गर्न प्रयोग गर्न सकिन्छ । यस प्रोजेक्टमा मनोज गुरुङ, कुशल भण्डारी, श्रीदीप कैनी, नवनीत सिंह र इशान पन्त संलग्न रहेका छन् ।

मशुर

मशुर खाद्यान्न आवश्यकता पूरा नभएको नेपालीहरूलाई पहुँचयोग्य र सस्तो पोषण पु¥याउने अभियानमा लागेको छ । मशुर होम हार्भेस्ट सिस्टम हो, जुन एक पूर्ण स्वचालित आईओटी डिभाइस हो । यसले यन्त्र भित्रको मौसमी अवस्थालाई कायम राख्छ ।

मशुरले एआई, आईओटी जस्ता नवीन प्रविधिहरू एकीकृत गरेर आवश्यकता अनुसार मशरुम उत्पादन गर्दछ । खाद्य उपभोगको मात्रा र गुणस्तरमा सुधार गर्ने प्रविधि र इकोसिस्टमको विकास गरेर, मशुरले मानिसहरूलाई उत्पादनशील बनाउन, समयको बचत र ऊर्जा कम खर्च गर्न मद्दत गर्नेछ ।

यस प्रोजेक्टको समूहमा शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई, सोनी पोखरेल र निश्चल नेपाल आबद्ध रहेका छन् ।

ओपन प्लास्टपेपर

ओपन प्लास्टपेपर एआई प्रविधिमा काम गरिरहेको परीक्षा व्यवस्थापन प्लाटफर्म हो । यसले केही समयमा नै हजारौं प्रश्नहरूबाट महत्वपूर्ण प्रश्नहरू छानेर केही सेकेण्डमा प्रश्नपत्र तयार पार्न सहयोग गर्नेछ । यसमा अपटुडेट प्रश्नपत्रको संगालो रहनेछ र एआई प्रविधिको मार्फतबाट परीक्षाको लागि आवश्यक र महत्वपूर्ण प्रश्नहरू छानेर हप्तौं लाग्ने कामलाई छाटो समयमा सम्पन्न गर्नेछ । यसले विद्यार्थीलाई पनि स्पेसिफिक प्रश्नहरूसँग आवश्यक च्याप्टरहरू पढ्न र प्रश्नको उत्तरको लागि सहजता प्रदान गर्दछ । यो प्रोजेक्टमा मनिष गोतामे, प्राश्ना कर्माचार्य र सन्तोष बरालको संलग्नता रहेको छ । 

रेन्ट अ बाइक

रेन्ट अ बाइक एउटा मोबाइल एप हो । यो एप नेपालको बढ्दो साहसिक खेल माउन्टेन बाइकिङलाई प्रवद्र्धन गर्न विकास गरिएको हो । पोखरा माउन्टेन बाइक एड्भेन्चरले प्रस्ताव गरेको केही उत्कृष्ट एक दिने बाइकिङ ट्रेलहरू रेन्ट अ बाइकमा रहेका छन् । यसमा ट्रेल नक्साहरू अन्वेषण गर्न, डाउनलोड गर्न र आफ्नै रूपमा नेभिगेट गर्न निःशुल्क उपलब्ध रहेका छन् । यसमा डिजिटल नक्सा, लोकप्रिय बाइकिङ यात्राहरूको मार्ग जानकारी, स्थल चिह्नहरूको जानकारी, अफलाइन नक्सा, माउन्टेन बाइकको जानकारी लगायतका सुविधा छन् । बाइक भाडामा लिएर समेत चलाउनको यसले सहजीकरण गर्नेछ । यस प्रोजेक्टको टोलीमा अनुसन्धान पोखरेल, वैभव विष्ट र सृष्टि श्रेष्ठ रहेका छन् । उनीहरूको टोलीको नाम एसफेरा हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved