नेपालमै बन्न थाल्यो सामसङ टिभी, गोल्छा ग्रुपले थाल्यो उत्पादन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2023 | 02:14:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सामसङ ब्रान्डको टेलिभिजनको उत्पादन नेपालमै सुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा नेतृत्वको गोल्छा ग्रुप अन्तर्गतले हिम इलेक्ट्रोनिक्सले सामसङ टेलिभिजनको उत्पादन थालेको हो । 

उद्योगमन्त्री रमेश रिजाल र नेपालका लागि कोरियारी राजदुत चोङसङ पार्कले संयुक्त रूपमा नवलपरासीमा उद्योग उद्घाटन गरेका छन् । गोल्छा ग्रुपले सामसङ कोरियासँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका उद्योग सञ्चालनमा ल्याएको हो । 

अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुन गइरहेको नेपालमा सामसङ टेलिभिजन उत्पादन हुनुले नेपाल उत्पादनमूलक देशका रूपमा विकास हुँदैछ भन्ने सन्देश दिएको राजदूत पार्कको विश्वास छ । 

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले नेपाली अर्थतन्त्रलाई बलियो बनाउन उत्पादित बस्तुमा भ्यालु एडिसन आवश्यक रहेको भन्दै सामसङसँगको सहकार्यमा उत्पादन मुलुक उद्योग स्थापना गरिएको बताए । 

‘इलेक्ट्रोनिक सामान उत्पादन गर्ने यति ठूलो उद्योग स्थापना भएको पहिलो पटक हो’ गोल्छाले खुशी हुँदै भने । 

सामसङ र बजाज मोटरसाइकल एसेम्बलमा गरी हाल नवलपरासीको यो उद्योग परिसरमा ४ सय जना महिलाहरूले रोजगारी पाएको गोल्छाले बताए । आगामी दुई वर्षभित्र १ हजारलाई रोजगार दिने लक्ष्य रहेको पनि गोल्छाले सुनाए । 

गोल्छाका अनुसार कम्पनीले आउँदा दिनहरुमा वासिङ मेसिन लगायतका इलेक्ट्रोनिक्स सामानहरु उत्पादन गरेर दक्षिण एसियाली बजारमा समेत पुर्याउने योजना बनाएको छ । 

सामसङका दक्षिण एसिया प्रमुख जेबी पार्कले नेपालमा टेलिभिजन उद्योग खोल्न पाउँदा खुसी लागेको बताएका छन् । 

गोल्छा ग्रुपले २०२२ को अगष्ट २२ मा उद्योग शिलान्यास गरेको थियो । गत अप्रिल ५ बाट परिक्षण उत्पादन थालिएको थियो । ३२ देखि ८८ इन्चसम्मका सबै डिजाइनका टेलिभिजन उत्पादन हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved