बन्दीपुर केबलकार जेठदेखि सञ्चालनमा, सबै संरचना दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2024 | 09:06:45 AM मा प्रकाशित

laxmi sunrise bank

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार आगामी जेठ ३१गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ ।

बैशाख १ गतेबाट विधिवत् शुभमुहूर्त तथा वास्तु पूजा गरी आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार ३१ गते बिहाबारदेखि व्यवसायिक रुपमा अपरेसनमा आउन लागेको हो । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।  टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको हो ।

करिब एक वर्ष अघि नै केबलकारको सम्पूर्ण मेकानिकल सामाग्रीहरूको जडान गरी लोड परीक्षण भइरहेको थियो । तीन चरणमा परिक्षणकाल सकिए पछि कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएको शर्माले जानकारी दिएका छन्  ।

लोड परीक्षण तथा केबलकार अपग्रेड गरी सम्पूर्ण हिसाबले सुरक्षाको प्रत्याभूति गराएपछि अन्तरराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र प्राप्त भएको उनको भनाइ छ । उनले भने, “कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी पुरा गरी पूर्ण सुरक्षित वातावरण बनेपछि मात्र सर्वसाधारणका लागि केबलकार सञ्चालन गर्न लागेका हौं।”

केबलकारमा सवार गरी बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिर दर्शन गर्न सकिनेछ । उक्त मन्दिर सर्वसाधारणका लागि पनि खुला गर्ने तयारी भइरहेको छ । यसअघि वर्षको एक दिन महाअष्टमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले बताएको छ । 

केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान आरोहण गरेझैं साहसिक अनुभूति लिन सकिने बताइएको छ । केबलकार चोकदेखि मन्दिरसम्म १ हजार ७०० मिटर दुरी ७ मिनेटमा पार गर्न सकिनेछ ।

यसअघि नै केबलकारको बटम स्टेसनमा अत्याधुनिक सुविधा सहितको रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकहरूलाई अन्तरराष्ट्रिय स्तरको पाँच तारे सरहको सुविधा प्रदान गर्ने उद्देश्यले बैशाख १ गतेदेखि रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा छ ।

त्यस्तै बटम स्टेसनमा जङ्गली म्युजियम, चिल्डरेन जोन, ३३कोटी देवीदेवताका मूर्ति सहितको आकर्षक पार्क सञ्चालनमा आएको छ । पार्कमा जिप लाइन, स्काइ साइक्लिङ लगायतका साहसिक खेलको पनि अनुभव लिन पाइनेछ ।

बन्दीपुरहिलको कुल लागत ६२९ करोड रुपैयाँमध्ये हालसम्म ४३३ करोडको काम सम्पन्न भएको पनि उनले बताए ।  समग्र बन्दीपुरहिल गुरुयोजना अनुसारका सबै संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य छ ।

निर्माणाधीन १७ तले कुइन टावर नामको पाँच तारे होटेल आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।केबलकारको ३१ गोण्डलामध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेका छन् । प्रतिघण्टा ५०० जना यात्री बोक्न सक्ने क्षमता रहेको सो केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राती ११ बजेसम्म चल्नेछ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved