काठमाडौंमा पहिलो पटक ‘प्रथम नेपाल आँप फेस्ट- २०८१ ’ शुरु भएको छ। ‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’ नाराका साथ हुने फेस्ट असार ७ गतेदेखि असार ९ गतेसम्म चल्नेछ।
किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा यो फेष्ट शुरु भएको हो। सर्लाही, सप्तरी, र सिराहाका किसानहरूबाट प्रत्यक्ष रुपमा खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरू यो प्रदर्शनीमा राखिएका छन् ।
फेस्टमा माल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकतिया, दसहरी लगायत १५ प्रकारका आँपहरू उपलब्ध छन्। सबै आँपहरू सिधा किसानबाट खरिद गरेर ल्याइएको हुँदा ताजा र सस्तोमा उपभोक्तासम्म पुर्याउने लक्ष्य रहेको आयोजकले बताएको छ। मेलामा प्राकृतिक रुपमा पाकेका र पकाइएका आँपहरू मात्र उपलब्ध छन्। ग्राहकहरुले आँपको स्वाद चाखेर ५ र २० किलोको बक्समा आँप किन्न पाउने व्यवस्था मिलाइएको छ।
आयोजकका अनुसार यो प्रदर्शनीको प्रमुख उद्देश्य भनेको नेपाली आँपको प्रचलन बढाउनु, यहाँका किसानहरूलाई प्रोत्साहन गर्नु र उपभोक्ताहरूलाई विषादीरहित स्वस्थ्य आँपमा पहुँच पुर्याउनु हो।
पानीपोखरीस्थित वालनट बिस्ट्रोसहित काठमाडौं अर्गानिक्स, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलबाट तीन दिनसम्मनै आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरुको प्रदर्शनी एवं बिक्री वितरण हुनेछ ।
फेस्टमा विभिन्न कम्पनीका १० वटा स्टल रहेका छन्, जहाँ ग्राहकले आँपका विभिन्न उत्पादन जस्तै अचार, आँपको पाउडर, डिहाइड्रेड म्याङ्गो, जामलगायत वस्तु पनि पाउने आयोजकको भनाइ छ।