तपाईंलाई विहान उठ्ने वित्तिकै कसको याद आउँछ ? अवस्य पनि सोच्नु भएको होला– चिया ।चिया नखाने कमै मान्छे हुन्छन् । चियाको लत लाग्छ। नियमित खाने बानी भएकाहरुले बेलाबेलामा भनेको पनि सुनिन्छ–आज चिया नखाएको, कस्तो टाउको दुख्यो ।
हामीले सामान्यतया चिया भन्ने वित्तिकै दूध चिया, फिक्का, कागती चिया,ग्रिन टि मात्र हो भन्ने बुझ्छौं । तर, काठमाडौंको बालुटारमा रहेको चियापान रेष्टुरेन्टमा भने १११ प्रकारका विभिन्न स्वादका चिया पाइन्छ । यो सुन्दा छक्क पर्नु स्वभाविक पनि हो । किन कि यतिधेरै चियाको स्वाद सायदै धेरैले चाखेका होलान ।यो रेष्टुरेन्टमा वास्तवमै १११ प्रकारको चिया पाइन्छ, त्यो पनि फरक फरक स्वादमा ।
चिया जीवन्त हो, चिया दु : ख विसाउने चौतारी पनि हो। चिया जिन्दगी पनि हो। चियाले अन्जान मान्छेलाई भेट गराउँछ । यतिमात्र नभएर चियाले आत्मिय बनाउन, एउटै सुत्रमा बाँध्न ठूलो भूमिका खेल्ने गर्दछ । यहाँ निरन्तर भेटिने पारखीहरु भन्छन्- यसमा के छैनभन्दा पनि चियामा सबथोक छ ।
चियापान रेष्टुरेन्टमा पहिलो पटक छिर्दा नै शहरको कोलाहलबाट सुन्दर एकान्त ठाउँमा पुगेको अनुभूति हुन्छ । जहाँ गाउँघरको सम्झना आउँछ र बसेर एक चुस्की चिया पिउन मन लाग्छ ।
चियापान रेष्टुरेन्टको शुरुवात सन् २०१६ अगस्ट २ बाट भएको हो । रेष्टुरेन्टको प्रारम्भिक ३० लाख रुपैयाँ रहेको प्रबन्धक नवराज अधिकारीले बताए । उनले भने,’ सानो लगानीमा शुरु गरेका थियौं, अहिले १ करोडको बराबरको पूँजी छ, यसलाई नै एउटा सफलता मानेका छौं ।’
चियापान रेष्टुरेन्ट नाम नै किन ?
चियापान रेष्टुरेन्ट नाम नै प्रथमत : अनौठो छ । यो नाम नै किन त ? उनले मुस्कुराउँदै भने, ‘चिया नखाने को नै हुन्छ र अपवाद बाहेक, चिया मात्र पाउने र सबैलाई मनपर्ने भएकाले सजिलो भाषामा चियापान रेष्टुरेन्ट राखेका हौं ।’
चियापानमा १६ किसिमका जडीबुटी मिसिएको चिया पाइन्छ,त्यो पनि फरक- फरक स्वादमा । जसमा तुलसी, घोड्ताप्रे, गुर्जो, अम्बाको बोक्रा, पिप्ला, पाँच औंंले, यार्चागुम्बा मिसाइन्छ । यसका साथै कफि, हिमाली भेगमा पाइने जडीबुटीको चिया ग्राहकको रुचि र चाहना अनुसार बनाउने गरेको उनको भनाइ छ ।
इलामको अर्गानिक चियाका भेराईटीमा रम्नेहरुको जमात ठूलो छ । अधिकारीले भने, ‘२ हजार ४०० मिटरमाथिको उचाइमा फलेको बढी स्वादिष्ट मानिन्छ, चिया जति उचाइको भयो, स्वाद त्यति नै मिठो हुन्छ ।’
चियापानमा ८० देखि २५० रुपैयाँ कपसम्म प्रतिकप चिया पाइन्छ । चियामात्र होइन यहाँ चियापति पनि किन्न पाइन्छ । यहाँ १०० ग्राम चिया ३५० देखि २ हजार ५०० रुपैयाँमा पाइन्छ । ग्रीन—टी र ब्ल्याक—टी ३ हजार ५ ०० रुपैयाँ पर्छ भने, वुलङ चिया किलोको ९०० रुपैयाँसम्म पर्ने उनले बताए ।
उनका अनुसार इलाममा १० रोपनीको एउटा छुट्टै चियाको बगैंचा पनि छ । बगैंचाबाट ग्राहकको माग धान्नका लागि केहि परिमाणमा भएपनि राहत मिलेको छ ।उनी भन्छन्,‘ कुनै चिया धेरै महँगो हुन्छ, जस्तै हृाइट—टीका लागि धेरै मुनाको आवश्यकता पर्छ, चियाको परिकार अवस्था हेरेर सहि ठाउँमा सहि चियापतिको प्रयोग गरेमा मात्र राम्रो चिया बन्छ ।’
चिया र खाजाबाट मासिक १३देखि १४ लाख रुपैयाँसम्मको व्यापार गर्ने चियापानमा अहिले १३ जनाले रोजगारी पाएका छन् । यो रेष्टुरेन्टमा प्रवेश गर्ने बित्तिकै ग्राहकहरुलाई ‘वेलकम टी’ उपहारस्वरुप नि : शुल्क दिइन्छ ।ग्राहकहरुले ‘वेलकम टी’ पिएपछि अरु थुप्रै, निःशुल्क रुपमै चियाको स्वाद चाख्न पाउँछन् । टी—टेष्टिङ चिया चखाउँदै, कसरी बनाउने भनी सिकाइन्छ ।
चियापानले स्वेदशमा उत्पादित चिया जापान, चीन, स्वीट्जरल्यान्ड लगायतका देशहरुमा पनि पठाउने गरेको छ । उनका अनुसार प्याकेट चिया विदेशमा किलोको हिसाबले बिक्री हुन्छ । यहाँ पाइने विभिन्न स्वादका चियाको प्याकेट किनेर लैजान सक्ने व्यवस्था पनि छ ।
चियापानमा आउने अधिकांश ग्राहक, वृद्धवृद्धा, सर्वसाधारणदेखि विदेशी, सेलिब्रेटीहरु र राजनीतिज्ञहरु आउने गरेको उनको भनाइ छ । यहाँ मासिक रुपमा चार पाँच लाख ग्राहक चियाको रसपान गर्न आउने गर्दछन् । अधिकारी भन्छन्,“चिया बेच्नु मात्र नभएर खास चिया के हो त ? विश्वमै चिया संस्कृति बढाउन र नेपाली चियाको संस्कृति विकास गर्ने नै चियापानको प्रमुख उदेश्य हो ।’
चियापानमा नेपाली मौलिकता झल्किने ढिकी, चुलो, जातो, ओखल पनि छन् । यहाँ आइपुग्ने ग्राहकले ढिकीमा कुटेको चामलको सेलरोटी पनि खान पाउँछन् । त्यस्तै अर्गानिक कोदो, फापर, मकैको रोटी, मःम जस्ता परिकारहरु पाइन्छ । चिया पिउँदै खाजा खोज्नेका लागि शुद्ध शाकाहारी खाजाहरु उपलब्ध छन् ।
चियापानको फेन्चाइजी अन्य स्थानमा पनि स्थापना गर्दै जाने योजना रहेको उनी बताउँछन् ।‘ विस्तारै सात वटै प्रदेशमा यस्तै चियापान खोल्ने योजना छ’,उनले अन्त्यमा भने, नेपालमा चिया संस्कृतिलाई प्रवर्द्धन गर्ने हो भने राम्रो आम्दानी र अवसर दुबै छ ।’