मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट्स तथा एक्जीबीसन एण्ड ट्रेड सर्भिसेस इण्डियाको संयुक्त आयोजनामा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ ।
आगामी भदौ २१, २२ र २३ गतेसम्म भृकुटीमण्डपमा तेस्रो पटक आयोजना हुन लागेको उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने छन् ।
प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम् प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहने छ ।
आयोजकका अनुसार स्वदेशम उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाइ देशलाई आर्थिक रूपमा सबलीकरण गर्दै लैजाने एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने प्रमुख उद्धेष्य छ ।
विद्युतीय उपकरणहरुलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तरराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
राष्ट्रिय एवं अन्तरराष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्द्धन गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको छ ।