कजारिया रमेश टायल्सले भैरहवामा ४ अर्ब रुपैयाँ लगानीमा टायल्स उद्योग सञ्चालन गरेको छ । सोमबारदेखि सञ्चालनमा आएको उद्योगको वार्षिक उत्पादन क्षमता ५१ लाख वर्गमिटर टायल रहेको कम्पनीले बताएको छ ।
कम्पनीले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्न लाइट अप (भट्टी प्रज्वलन) उद्घाटन गरेको छ । कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाको उपस्थितिमा आयोजित कार्यक्रममा बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र बर्दघाट नगरपालिका १२ का वडाअध्यक्ष उमाशंकर चौधरीले बधाई तथा शुभकामना दिएका थिए ।
बजारको माग अनुसार कारखानाबाट सामग्री उत्पादन गर्ने अपेक्षा गरिएको छ । नेपालमा उच्च गुणस्तरका टायलको माग पूर्तीसँगै मूल्य सहज हुँदा उपभोक्ता समेत लाभ पाउने अपेक्षा कम्पनीले गरेको छ ।
सो अवसरमा कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष अशोक कजारियाले नेपालमा नयाँ उत्पादन केन्द्र स्थापना गर्न पाएकोमा खुसी लागेको बताए । त्यसैगरी कजारिया रमेश टाइल्स लिमिटेडका अध्यक्ष प्रतिक जलानले कारखानको विस्तारपछि विश्वस्तरीय टायल प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हुने बताए । साथै उनले मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै टायलमा आत्मनिर्भर हुने लक्ष्य रहेको बताए ।
कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र भारतको अग्रणी टायल निर्माता कम्पनी कजारिया सेरामिक्स लिमिटेडको संयुक्त कम्पनी हो । सोही सहकार्यमार्फत नेपालको सबैभन्दा ठूलो टायल निर्माण कारखाना नवलपरासीमा स्थापना भएको छ । उक्त कम्पनीले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने महत्वाकंक्षा लिएको बताएको छ ।
कम्पनीको त्यहाँ रहेको कारखानाले वार्षिक ५१ लाख वर्ग मिटर टायल उत्पादन गर्ने लक्ष्य लिएको छ । कारखाना सञ्चालन पछि स्थानीय अर्थतन्त्रमा उल्लेखनीय भुमिका निर्वाह गर्ने तथा हजारौं रोजगारीका अवसरहरु सृजना हुने अपेक्षा छ । कम्पनीले स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउँदै वृद्धि र विकासलाई प्रवर्द्धन पनि गर्ने बताएको छ।