करेन्ट नुडल्सको उत्पादक कम्पनी यशोदा फुड्स प्राइभेट लिमिटेडले अदालतको आदेशको गलत ब्याख्या गरिएको भन्दै आपत्ति जनाएको छ। अदालतले कहीं कतैं पनि करेन्ट नुडल्सको विक्री वितरणमा रोक नलगाएको भन्दै आज एक विज्ञप्ती मार्फत यसोदा फुड्सले जानकारी गराएको हो।
यसोदा फुड्सकाअनुसार सर्वोच्च अदालतले साउन ३२ गते कानुन बमोजिम गर्नु भनेर दिएको आदेशलाई गलत ब्याख्या गरि विभिन्न संचार माध्यममा यसोदा फुड्सको बारेमा भ्रमपूर्ण समाचारहरु प्रकाशन गराईएको छ।
विज्ञप्तीमा भनिएको छ 'अदालतको आदेशको अवहेलना जन्य कार्य गरि दुष्प्रचार गरेको कुरामा यशोदा फुड्स प्रालिको गम्भीर ध्यानाकर्षण भएको छ।'
भएको के हो ?
करेन्ट नामको ट्रेडमार्क, लेबल समेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरि प्रमाणपत्र लिई प्रचलित कानून भित्र रहेर बिभिन्न स्वादका चाउचाऊ उत्पादन गरिरहेको यसोदा फुड्सले करेन्ट रेगुलर रु २० मा विक्री गर्ने 'चाउचाउको ५ प्याक' भन्ने लेभल दर्ताका लागि उद्योग विभाग समक्ष आबेदन दिएको थियो।
तर सो लेभल दर्तामा बिरोध जनाई सिजी फुड्सले उद्योग बिभागमा निबेदन दिएको थियो। सो निबेदनमाथि उद्योग बिभागले सिजी फुड्सको दाबी नपुग्ने र यसोदा फुड्सले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी २०८० जेठ २९ मा फैसला गरेको थियो।
उद्योग बिभागको उक्त फैसलाप्रति असन्तुष्टि जनाउदै सिजी फुड्सले उच्च अदालत पाटनमा पुन अन्तरकालिन आदेश माग गरि निबेदन दिएको थियो। उच्च अदालत पाटनको संयुक्त इजलासले यशोदा फुड्सले माग गरेको ट्रेडमार्क दर्ता हुने भन्ने उद्योग बिभागको '२०८० जेठ २९' को फैसलालाई अर्को आदेश नभएसम्मको लागि यथास्थितिमा राख्नलाई आदेश दिएको थियो।
सो आदेशपछि यशोदा फुड्सले चाउचाउको ५ प्याक' भन्ने लेभल दर्ताका लागि आबेदन नम्बर ०९८२२९ को लेभलबाट कुनै पनि मालबस्तु उत्पादन नगरेकोबारे बिभिन्न मितिमा सार्वजनिक सुचना जारि गर्दै आएको थियो।
उच्च अदालत पाटनको सोहि आदेशलाई टेकेर सर्वोच्च अदालतले २०८१ साउन ३२ गते 'कानुन बमोजिम गर्नु' भनि आदेश दिएको छ। यहि आदेशलाई गलत ब्याख्या गरि करेन्ट नुडल्सको चाउचाउ विक्री वितरणमै रोक लगाएको र बजारमा गएको सामान फिर्ता लिनुपर्ने भन्ने भ्रामक समाचार फैलाइएको यसोदा फुड्सको आरोप छ।
यसोदा फुड्सले भनेको छ , यसोदा फुड्सले उद्योग बिभागलेबाट प्राप्त उपरोक्त ट्रेडमार्क दर्ता प्रमाणपत्र र लेबल बमोजिमका माल्बस्तु उत्पादन गरी आएको छ। विक्री वितरणमै रोक लगाइएको र बजारमा गएको सामान फिर्ता लिनुपर्ने भन्ने समाचार भ्रमपूर्ण र असत्य छ। हल्लाको पछाडी नलागी निर्वाध रुपमा यशोदा फुड्सका उत्पादनहरु विक्री वितरण गर्न तथा उपभोग गर्न तथा डिलर महानुभावहरु तथा आदरणीय उपभोक्ता महानुभावहरु समक्ष हार्दिप अपिल गर्दछौं । '