अनलाइन ट्राभल एग्रीगेटर (ओटीए) प्लेटफर्म ट्रिप टर्बो सञ्चालनमा आएको छ । प्लेटफर्ममार्फत सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एण्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्ने कम्पनीले बताएको छ ।
एपमार्फत् हवाई टिकट बुकिङ, साहसिक पर्यटनसँग सम्बन्धित गतिविधि, बस टिकट, होटल बुकिङलगायतका सुविधा लिन सकिने ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले बताए ।
कम्पनीका अनुसार साहसिक पर्यटनतर्फ र्याफ्टिङ, बन्जी, प्याराग्लाइडिङ, हट एयर बेलुन, जिपलाइन, आइस स्केटिङ लगायतका थुप्रै गतिविधिका लागि टिकट बुक गर्न सकिन्छ ।
ट्रिप टर्बो पाँच दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील नटराज टुर्स एण्ड ट्राभल्सको सिस्टर कम्पनी हो । ट्रिप टर्बोमार्फत हवाई टिकट बुकिङ गर्दा पहिलो टिकटमा ३०० रुपैयाँ र त्यसपछिका टिकटमा २०० रुपैयाँ छूट समेत पाइने छ । परीक्षणका रुपमा २०२४ जनवरीबाट शुरु गरिएको यो एप अब भने पूर्णरुपमा सञ्चालनमा आएको कम्पनीको भनाइ छ ।
एपमार्फत् कुनै पनि सेवा लिँदा ई सेवा, खल्ती, मोबाइल बैंकिङ, अन्तरराष्ट्रिय कार्ड (भिजा, मास्टर कार्ड, युनियन पे,अमेरिकन एक्सप्रेस) मार्फत भुक्तानी गर्न सकिनेछ । उनका अनुसार सेवा प्रदायक र सेवाग्राही बीचको दूरी कम गर्न पर्यटन क्षेत्रलाई थप टेवा पुर्याउन तथा नेपाली संस्कृति र इतिहासको संरक्षणका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले एपमार्फत विभिन्न सेवा प्रदान गरिएको हो ।
ट्रिप टर्बो एपमार्फत निकट भविष्यमा अन्तरराष्ट्रिय हवाई उडानको टिकट, अन्तरराष्ट्रिय होटल बुकिङलगायतका सुविधा थप गर्ने योजना छ ।
एप्पल प्रयोगकर्ताले एप स्टोर र एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरबाट यो एप डाउनलोड गरी प्रयोग गर्न सक्छन् ।अथवा ट्रिप टर्बोको आधिकारिक वेबसाइटमा लग इन गरेर पनि आफूले चाहेको सेवा लिन सकिने कम्पनीले बताएको छ ।