भारतको अग्रणी टाइल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै भरतपुर, विकास चोकमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ। पशुपति ग्रेनाइट एण्ड टाइल्स सप्लायर्स द्वारा सञ्चालित यो सोरुमले नेपालमा उच्च गुणस्तरका टायलहरूको बढ्दो माग पूरा गर्ने लक्ष्य राखेको छ।
सोमबार आयोजित उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने कजारियाका राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंह को सहभागिताले कार्यक्रमलाई थप गौरवमय बनायो। प्रमुख अतिथिले रिबन काटेर औपचारिक रूपमा सोरुम उद्घाटन गरे।
कार्यक्रममा बोल्दै कजारियाका राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले भरतपुर बजार कजारियाका लागि महत्वपूर्ण भएको बताए। उनले भने, "यो सोरुमले हाम्रो प्रिमियम टायल्सलाई स्थानीय ग्राहकसम्म पुर्याउन मद्दत गर्नेछ। हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउनेछ।"
भरतपुरको प्रमुख व्यापारिक केन्द्रमा रहेको यो सोरुमले प्रिमियम टायल्सको विस्तृत संग्रह प्रदान गर्नेछ, जसले ग्राहकहरूलाई सहज पहुँच र उत्कृष्ट सेवा सुनिश्चित गर्नेछ। कजारियाले नेपालमा निर्माण सामग्री उद्योगमा नवीनतम डिजाइन र गुणस्तरका नयाँ मापदण्ड स्थापित गर्ने आफ्नो मिशनलाई निरन्तरता दिँदै आएको छ।
नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेको छ।
४०० करोड रुपैयाँको लगानीमा स्थापना भएको यो प्लान्टले वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ। स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादित टायल्सले नेपाली उपभोक्तालाई सुलभ मूल्यमा विश्वस्तरीय गुणस्तर उपलब्ध गराउने लक्ष्य राखेको छ।
कम्पनीका अनुसार, यस प्लान्टले हजारौं रोजगारी सिर्जना गरी स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउनेछ। साथै, नेपालमा निर्माण सामग्री उद्योगको प्रवर्द्धन गर्दै वृद्धि र विकासलाई थप गतिशील बनाउनेछ।
कजारियाले नेपालभर सहज पहुँच बनाउने लक्ष्यका साथ आफ्नो विस्तारलाई निरन्तरता दिँदै आएको छ। भरतपुरको नयाँ सोरुम उद्घाटन र नवलपरासीको उत्पादन प्लान्ट स्थापनाले नेपालमा टाइल्स उद्योगको नयाँ युग सुरुवात गरेको कजारियाको दाबी छ।