कुलेश्वरस्थित आफ्नै डिपो कार्यालयमा पञ्चकन्या समूहले १३औं विश्व प्लम्बर दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। प्लम्बिङ क्षेत्रमा योगदान दिने मेहनती प्लम्बरहरूको सम्मान गर्दै आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा जिफन्ट नेपाल बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, नुवाकोट प्लम्बर संघका अध्यक्ष विजय कुमार मगर, भक्तपुर नगर समितिका सदस्य बालकृष्ण खैजु, बालाजु स्कूल अफ इन्जिनियरिङका सेनेटरी विभाग प्रमुख माधव प्रसाद अधिकारी, वरिष्ठ प्राविधिक गोकुल दंगाललगायतको उपस्थिति रहेको थियो।
वक्ताहरूले समाजमा प्लम्बरहरूले खेल्ने महत्त्वपूर्ण भूमिकाबारे विचार राख्दै, राष्ट्रको पूर्वाधार विकासमा उनीहरूको योगदानलाई मान्यता दिनुपर्ने कुरामा जोड दिएका थिए। प्लम्बरहरूको निरन्तर परिश्रमकै कारण सुरक्षित र भरपर्दो पूर्वाधार निर्माण सम्भव भएको भन्दै उनीहरूको सेवाप्रति सम्मान व्यक्त गरिएको थियो।
कार्यक्रममा उपस्थित डिलर तथा ग्राहकहरूको समेत योगदानको कदर गर्दै पञ्चकन्या समूहले सहभागी सबै प्लम्बरहरूलाई कृतज्ञताको प्रतीकस्वरूप उपहार वितरण गरेको थियो।
नेपालकै अग्रणी औद्योगिक समूहहरूमध्ये एक पञ्चकन्या समूह उच्च-गुणस्तरीय उत्पादन र सेवाका लागि परिचित छ। निर्माण तथा पूर्वाधार विकासमा गुणस्तर र नवीनतालाई प्राथमिकता दिंदै आएको समूहले दिगो विकासलाई समेत ध्यानमा राखेर आफ्नो सेवा विस्तार गरिरहेको छ।
यस कार्यक्रमले प्लम्बिङ क्षेत्रका श्रमिकहरूको योगदानलाई मान्यता दिने मात्र नभई, भविष्यमा पनि सुरक्षित र भरपर्दो पूर्वाधार विकासमा उनीहरूको भूमिकालाई अझ मजबुत बनाउन उत्प्रेरित गर्ने विश्वास लिइएको छ।