एकीकृत सूचना तथा सञ्चार प्रविधि समाधानमा विश्वव्यापी पहिचान बनाएको जेडटिइ कर्पोरेशनले नेपालमा पुनः औपचारिक प्रवेश गर्दै ब्लेड ए र नुबिया सिरिजका पाँच नयाँ स्मार्टफोन मोडलहरू सार्वजनिक गरेको छ। कम्पनीले नेपाली बजारका लागि आधिकारिक वितरकको रूपमा शंकर ग्रुपसँग सहकार्य गरेको छ।
ब्लेड सिरिजमा जेडटीई ब्लेड ए७५ सबैभन्दा शक्तिशाली मोडलको रूपमा प्रस्तुत गरिएको छ। ६.६ इन्चको ९० हर्ज डिस्प्ले, ५० मेगापिक्सेलको एआई क्यामरा, ५,००० एमएएच ब्याट्री, २२.५ वाट फास्ट चार्जिङ, २५६ जीबी स्टोरेज र १४ जीबी र्यामजस्ता फिचरले यो फोनलाई प्रिमियम बनाएको छ। लाइभ आइल्याण्ड फिचरमार्फत प्रयोगकर्ताले नोटिफिकेसन र सर्टकटहरूमा सजिलै पहुँच पाउँछन्।
त्यसैगरी, दैनिक प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले ब्लेड ए३५ र ब्लेड ए५५ मोडल पनि प्रस्तुत गरेको छ। ब्लेड ए३५ मा ८ मेगापिक्सेल क्यामरा र ६ जीबी र्याम रहेका छन् भने ब्लेड ए५५ मा ६.७५ इन्चको डिस्प्ले, १३ मेगापिक्सेल डुअल क्यामरा र फिंगरप्रिन्ट स्क्यानर राखिएको छ।
नुबिया सिरिजअन्तर्गत, नुबिया भी७० म्याक्स र नुबिया भी७० डिजाइन नामक दुई मोडल सार्वजनिक गरिएका छन्। भी७० म्याक्समा ६.९ इन्चको १२० हर्ज डिस्प्ले, ६,००० एमएएच ब्याट्री, ५० मेगापिक्सेल ट्रिपल क्यामरा र एआई एडिटिङ फिचरहरू छन्। भी७० डिजाइनमा भने १६ जीबी र्याम, ५० मेगापिक्सेल क्यामेरा र स्टाइलिश ग्लास र लेदर टेक्स्चर डिजाइन राखिएको छ।
शंकर ग्रुपसँगको सहकार्यले जेडटिइलाई नेपालमा बलियो बजार पकड बनाउने विश्वास व्यक्त गर्दै कम्पनीले टेक्नोलोजीको नयाँ अनुभव ल्याउने दाबी गरेको छ।