पुस्तक लोकार्पणमा नयाँ अभ्यास : युवा लेखक सुवेदीको ‘बहुरूपी’ले भित्र्यायो फरक स्वाद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2025 | 10:19:14 PM मा प्रकाशित

nepal oil ltd

युवा लेखक श्रेयज सुवेदीको पहिलो कथा सङ्ग्रह ‘बहुरूपी’ नयाँ प्रयोगसहित राजधानीका सात स्थानमा एकैसाथ लोकार्पण गरिएको छ । शनिबार बुक्स मण्डला बालुवाटार, चियावाला थापाथली, सिभिल मल सुन्धारा, आइप्लेक्स मल बानेश्वर, लबिम मल ललितपुर, चियामाया झम्सिखेल र पिमवहालमा आयोजित स्टलमार्फत पुस्तक पाठकहरूसँग प्रत्यक्ष अन्तरक्रिया, हस्ताक्षर तथा बिक्री गर्दै सार्वजनिक गरिएको हो ।

पुस्तक बजारमा ल्याउने परम्परागत शैलीलाई परिवर्तन गर्दै गरिएको यो प्रयासले पाठकहरूमा उत्साह थपेको देखिएको छ । स्टलमा पुस्तक किन्न आएका पाठकहरूले सिनेमाको शैलीमा पुस्तकको प्रचारप्रसार भएको देख्दा रमाइलो लागेको प्रतिक्रिया दिएका छन् । लेखक श्रेयजका कथाबाट प्रभावित भई स्टल पुगेकी पाठक अंशुले लेखनमा नयाँ प्रयोग गर्ने लेखकको शैली पुस्तकमा समेत देखिएको बताउँदै हजारौँ पाठकको मायाको कामना गरेकी छन् ।

बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले परम्परागत लोकार्पण शैली त्याग्दै नयाँ बजार व्यवस्थापनको अवधारणाअनुसार ‘बहुरूपी’लाई सार्वजनिक गरिएको जानकारी दिए । उनले राम्रा पुस्तकहरू पनि उचित प्रचारप्रसार नहुँदा पाठकसम्म पुग्न नसक्ने भएकाले नयाँ तरिका अवलम्बन गरिएको बताए ।

फरक शैलीमा लोकार्पण भएकोमा लेखक श्रेयज सुवेदीले खुसी व्यक्त गरेका छन् । उनले आफ्ना कथाहरूमा मौलिकता र भिन्नता राख्न प्रयास गरेको उल्लेख गर्दै आजको लोकार्पणबाट नयाँ शुरुवात भएको बताए ।

‘बहुरूपी’ कथा सङ्ग्रहमा ६ खण्डमा विभाजित १५ कथा समावेश छन् । प्रत्येक कथाले मधेशको जीवनशैली, प्रकृति, भूगोल, भाषा र स्थानीय विशेषतालाई चित्रण गरेको छ । युवाहरूको मनोविज्ञान, सपना र भोगाइलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको पुस्तक बुकहिल प्रकाशनले आफ्नो महत्त्वाकांक्षी कृति स्वरूप बजारमा ल्याएको हो । २२८ पृष्ठको यो पुस्तकको मूल्य ५५५ रुपैयाँ तोकिएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved