
नेपाल मोबाइल वितरक संघ (एनएमडिए) का नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठी नेतृत्वको कार्यसमितिलाई मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) ले बधाई तथा स्वागत गरेको छ। एमपिआइएका अध्यक्ष दीपक कुमार मल्होत्राले आयोजित स्वागत कार्यक्रममा नव–निर्वाचित कार्यसमितिलाई बधाई दिँदै समग्र मोबाइल व्यवसाय सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन संस्थाबीच सहकार्य सशक्त बनाइने बताएका छन्।
पूर्व अध्यक्ष दिनेश चुल्याद्योको दुई कार्यकालको नेतृत्वको उच्च प्रशंसा गर्दै अध्यक्ष मल्होत्राले एमडीएमएस प्रणालीको प्रभावकारी कार्यान्वयनमा एमपिआइए, एनएमडिए र नेपाल मोबाइल व्यवसायी महासंघ (एफएनएमबिए) बीचको समन्वय अझ मजबुत हुने विश्वास व्यक्त गरे। उनले उपभोक्तालाई गुणस्तरीय सेवा सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा एमपिआइएका उपाध्यक्ष संजय अग्रवालले मोबाइल बजारमा अनियन्त्रित उधारो कारोबार र अबैध आयात नियन्त्रण गर्न ठोस पहल आवश्यक रहेको धारणा राखे। उनले विधिसम्मत र पारदर्शी व्यापार प्रणाली विकास गर्नु नै दीर्घकालीन समाधान भएको बताए।
नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीले आगामी दिनमा मोबाइल व्यवसायको प्रवर्द्धन तथा व्यवसायिक शुद्धता कायम गर्न एनएमडिए प्रतिबद्ध रहेको बताए। उनले मोबाइल बजारमा देखिएका चुनौतीहरूलाई सहकार्यमार्फत समाधान गर्दै सम्भावनाका नयाँ ढोका खोल्न सकिने विश्वाससमेत व्यक्त गरे।
मोबाइल व्यवसायमा डिजिटल पारदर्शिता, सुरक्षात्मक प्रविधिको उपयोग र नीतिगत सहकार्यका मुद्दाहरू अबको साझा एजेण्डा हुने सम्बन्धित पक्षले बताएका छन्।