बजेटमार्फत यी बस्तुको आयातमा बढ्दैछ भन्सार ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 19, 2020 | 03:49:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्षमा करको दर नबढ्ने तर दायरा बढाउने भनेपनि आयातित बस्तुहरुमा भने भन्सार दर बढाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिन अघि करको दर नभई दायरा बढाईने बताएका थिए । उनको यो भनाई आन्तरिक उद्योग र उत्पादनको कर यथावत रहनेतर्फ सांकेतिक रुपमा प्रस्तुत भएको भएपनि भारतसहित विभिन्न देशबाट आयात हुने बस्तुहरुको भने भन्सार शुल्क झण्डै दोब्बरले बढाउने तयारी थालिएको छ । 

के के मा बढ्दैछ भन्सार ?

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले आन्तरिक उत्पादनले नै धान्ने स्थिती सिर्जना भएका मालसामान विदेशबाट ल्याउन कडाई गर्ने जनाएको छ । यसै अनुसार उद्योग मन्त्रालयले अर्थ मन्त्रालयसँग पनि छलफल गरिसकेको छ । उद्योग मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्री डा. खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणबाटै उद्योग मन्त्रालयले गरेको सिफारिसका आधारमा भन्सार शुल्क बढेको घोषणा गर्नेछन् । 

उद्योग राज्यमन्त्री मोतिलाल दुगडका अनुसार पनि आत्मनिर्भर बनिसकेका उद्योगहरुको संरक्षणका लागि मन्त्रालयले विदेशबाट सामान ल्याउने काम रोक्न भन्सार दर बढाउन अर्थलाई सुझाव दिएको छ । 

खाने तेल, दूध, अण्डा र मासुको आयातमा अब भन्सार दर बढाईनेछ । जुत्ता चप्पल, कपडा, धागो र कार्पेट आयात गर्दा पनि अहिले लाग्दै आएको भन्सार दर अब बढ्नेछ । यी बस्तु उत्पादन गर्ने नेपाली उद्योगलाई प्रोत्साहन गर्न भन्सार शुल्क बढाउनुपर्ने अवस्था आएको र बजेटमार्फत बढेको घोषणा गरिने राज्यमन्त्री दुगडले जानकारी दिएका छन् । 

अटोमोबाइल्सतर्फ लुब्रिकेण्ट्सको आयातमा भन्सार शुल्क बढाउने तयारी भइरहँदा सेनिटरी प्याड र डाइफरको आयातमा पनि भन्सार शुल्क बढ्ने मन्त्रालयले जनाएको छ । 

जुस लगायतका पेय पदार्थ उत्पादन हुने उद्योगमा प्रयोग गर्नका लागि हुने फलफुलको आयातमा पनि कडाई गर्न कृषि र उद्योग मन्त्रालयबीच मौखिक समझदारी बनेको छ ।

९० प्रतिशतभन्दा धेरै माग आन्तरिक उत्पादनले नै धान्न सक्ने अवस्थामा रहेका बस्तुहरुको आयातमा भन्सार दर बढाई बाँकी १० प्रतिशत उत्पादन बृद्धि गर्न प्रोत्साहन गर्ने उदेश्य रहेको राज्यमन्त्री दुगडको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved