सरकारले कोरोनाबाट प्रभावित श्रम बजारलाई व्यवस्थापन गर्न जोड दिएको छ। आगामी बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले भएका रोजगारी बचाउन र नयाँ रोजगारी सिर्जना गर्न बजेटमा जोड दिइएको बताएका छन्।
सरकारले साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। त्यस्तै आगामी वर्ष ७५ हजार जनालाई सीपमुलक तालिमदिन ४ अर्ब ३४ करोड बिनियोजन गरेको छ।
त्यस्तै सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब विनियोजन गरेको छ। त्यस्तै आगामी बजेटमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा २ लाख रोजगारी उपलब्ध गराउन ११ अर्ब ६० करोड बिनियोजन गरेको छ।
कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गरिने लक्ष्य लिएको छ। सरकारले सबै श्रमिक र कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा ल्याउन प्रोत्साहित गर्ने भएको छ।
सरकारले नेपाली नागरिकको रोजगारी सुरक्षित र वृद्धि गर्नलाई श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाउने व्यवस्था गर्ने भएको छ।