‘३० वर्ष यताकै उत्कृष्ट बजेट’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2020 | 04:11:55 PM मा प्रकाशित

laxmi  sunrise bank

घरेलु तथा साना उद्योगहरुले बजेट स्वागतयोग्य मात्रै नभई उत्कृष्ट आएको बताएका छन् । लघु, घरेलु तथा साना उद्योग महासंघले प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र राष्ट्रिय योजना आयोगमा आफूले दिएको सुझाव बजेटमार्फत सम्बोधन भएको बताएको छ । 

२ प्रतिशत ब्याजदरमा नयाँ उद्योगलाई कर्जा दिने, ५ प्रतिशत ब्याजमा ऋण दिने, विदेशबाट आएका र श्रम स्वीकृति लिएर पनि जान नपाएका नेपालीलाई स्वदेशमै काममा लगाउन तालिमको लागि ३ महिनाको आधा खर्च सरकारले ब्यहोर्ने, लकडाउन अवधिभरको विद्युत महशुल छुट दिनेलगायत विषय बजेटमार्फत सम्बोधन हुनु घरेलु तथा साना उद्योगका लागि निकै ठूलो राहत मिलेको महासंघका कार्यबाहक अध्यक्ष उमेश प्रसाद सिंहको भनाई छ ।

म्हिला उद्यमीका लागि विशेष प्याकेजको व्यवस्था हुनु, ७ वर्षसम्म आयकर छुट दिँदै आएकोमा ३ वर्ष थप गरी १० वर्ष पुर्याउनु र लघु घरेलु उद्योगको आयकर ५ वर्ष छुट रहेकोमा २ वर्ष थप गरी ७ वर्ष पुर्याइनु अत्यन्त स्वागतयोग्य भएको सिंहको भनाई छ । २० लाखसम्म कारोबार गर्ने उद्योगलाई ७५ प्रतिशत आयकर छुट दिने निर्णयले घरेलु उद्योग फस्टाउन मद्दत पुग्ने उनको विश्वास छ । 

सिंहका अनुसार महासंघले बजेटका लागि दिएको ५६ वटा सुझावमध्ये १५ वटा सुझाव अक्षरसः र बाँकी पनि आंशिक रुपमा समेटिएको छ । कच्चा पदार्थको भन्सार छुट, निजी क्षेत्रले उत्पादन गरेको आन्तरिक उत्पादनलाई विदेशमा कोशेलीका रुपमा पठाउन पाईने व्यवस्था आदिले घरेलु उद्योगको विकास हुने महासंघको विश्वास छ ।

धागो र स्वदेशी कपडाको प्रयोगमा प्रोत्साहन, सुरक्षाकर्मीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन हुने व्यवस्था मिलाउने उद्घोष हुनुले सरकारले साना तथा घरेलु उद्योगलाई नजिकबाट हेरेर बजेट ल्याएको अनुभूति भएको सिंहको भनाई छ । 

‘कृषि र बनसँग सम्बन्धि उद्योगलाई प्राथमिकता दिईएको छ’ सिंहले भने, ‘बजेट कार्यान्वयन भयो भने अब काम गर्नकै लागि विदेश जानुपर्ने बाध्यता नेपालीलाई रहँदैन, अब विदेश जाने मानसिकता भएकाहरुलाई कसैले रोक्न सक्दैन, तर काम पाएँ भने नेपालमै बस्छु भन्ने मानसिकता भएकाहरु अब विदेश जानुपर्दैन ।’ 

उनले थपे, ‘महासंघ स्थापना भएको २९ वर्ष पुगेर ३० वर्ष लागेको छ, यो ३० वर्षे इतिहासमा घरेलु तथा साना उद्योगका लागि यत्तिको राम्रो बजेट आएको यो पहिलो पटक हो, यसका लागि हामीले सरकारलाई धन्यवाद दिनुपर्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved