करको विषयमा निकै आलोचित भएका अर्थमन्त्री डा. युवराज खतिवडाले कर छली गरेकालाई भने गज्जबको अफर ल्याएका छन् । मन्त्री खतिवडाले बजेट मार्फत विगतमा कर लाग्ने आय आर्जन गरेका तर कर नतिरी बसेकालाई बम्पर अफर ल्याएका हुन् ।
मन्त्री खतिवडाले गत साता संसदमा पेश गरेको आगामी आर्थिक बर्षको बजेटमा विगतमा कर नतिरेकालाई २ वर्षको कर तिरेर आफ्नो सम्पतिलाई बैध बनाउन सक्ने अफर ल्याएका हुन् ।
जस अनुसार कुनै पनि व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर त्यसरी आर्जित आयमा आकार नबुझाएको भए आर्थिक वर्ष ७४/७५ र ७५/७६ को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर २०७७ फागुनसम्म तिरेमा सो वापत लाग्ने ब्याज तथा शुल्क मिनाहा हुने छ । यसको लागि स्थायी लेखा नम्बर भने अनिवार्य रूपमा लिनु पर्ने छ। फागुनसम्म कर तिरे त्यो भन्दा अगाडीको आर्थिक वर्षहरुको आय विवरण र त्यसमा लाग्ने कर, शुल्क, र ब्याज बुझाउने पर्ने छैन।
त्यस्तै स्थायी लेखा नम्बर लिई आय विवरण पेश नगर्ने वार्षिक ५० लाखसम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष ७३/७४, ७४/७५ र ७५/७६ को आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम २०७७ फागुन मसान्तसम्म बुझाएमा सो भन्दा अघिका वर्षहरुको आय विवरण पेश गर्नु पर्ने छैन भने त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकि ब्याज मिनाहा हुने छ ।
त्यस्तै स्थायी लेखा नम्बर लिई आय विवरण पेश नगर्ने वार्षिक ५० लाखभन्दा बढीको कारोबार गर्ने प्राकृतिक व्यक्ति वा निकायले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम २०७७ फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने कर, शुल्क तथा बाँकि ब्याज मिनाहा हुने छ ।
त्यस्तै २०७५ असारसम्मको भ्याट विवरण पेश नगर्ने भ्याटमा दर्ता भएकाहरुले आफुले बुझाउनु पर्ने कर विवरण, सो कर विवरण अनुसारको भ्याट र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम २०७७ फागुन मसान्त भित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकि ब्याज मिनाहा हुने छ ।