विद्युतीय गाडीको मूल्य घट्ने भएको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटले विद्युतीय सवारी साधनमा लाग्दै आएको करका दर समायोजन गरेसँगै विद्युतीय सवारी साधन अत्याधिक सस्तो हुने अटोमोबाइल्स व्यवसायीहरु बताउँछन् ।
अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्ण प्रसाद दुलालले नाडाका सबै सुझाव बजेटमार्फत सम्बोधन भएको र यसले अटोमोबाइल्स क्षेत्रलाई थप चलायमान बनाउने बताएका छन् । बिजपाटीसँग बजेटबारे संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दुलालले विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तशुल्क पूरै मिनाहा हुँदा विद्युतीय सवारीको मूल्य कम्तीमा १० लाख घट्ने दाबी गरे ।
‘अन्तशुल्क ६० प्रतिशतसम्म लाग्दै आएको थियो, अन्तशुल्क लिईसकेपछिको मूल्यमा भन्सार दर लाग्ने व्यवस्था थियो, यसले विद्युतीय सवारी चलाउन प्रोत्साहन हुन सकेको थिएन, तर अब ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था हटेर शून्यमा झर्दा गाडी १० लाख सस्तो हुन्छ’ उनले भने, ‘यो नाडाले दिएको महत्वपूर्ण सुझाव थियो, अर्थमन्त्रीले सम्बोधन गर्नुभयो ।’
त्यस्तै निजी क्षेत्रसँग मिलेर ५ सय स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन बनाउने, काठमाडौँ उपत्यकामा साझा यातायातसँग मिलेर १ सय वटा विद्युतीय बस चलाउने र कर बुझाउने वित्तिक्कै स्वतः कर चुक्ताको प्रमाणपत्र पाउने व्यवस्था हुनु अत्यन्त सकारात्मक रहेको दुलालको भनाई छ ।
२० लाख सम्मको आम्दानीमा ९० प्रतिशत आयकर छुट लगायतका विषयमा नाडाले दिएका सुझाव सम्बोधन भएर बजेट आएकाले नाडाले बजेटको स्वागत गरेको उनले बताए ।
अर्थमन्त्री पौडेलले बजेट भाषणमार्फत घोषणा गरेको विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तशुल्क मिनाहा तत्काल लागू हुने भएकाले अब विद्युतीय सवारी साधनप्रति उपभोक्ताको आकर्षण बढ्ने विश्वास लिईएको छ ।