सेयर बजार र घरजग्गामा लगानी गर्दा धमाधम ‘डुब्दै’ छन् सहकारी

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 08, 2022 | 02:27:31 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको धुलिखेल नगरपालिका ११ पात्लेखेतका रामबहादुर गौतम अहिले कहाँ छन् कसैलाई पत्तो छैन । किनकी, काठमाडौँ १४ कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका उनी सम्पर्कबिहीन भएको दुई हप्ता भयो । 

उक्त सहकारी संस्थामा २ हजार ५ सय बढी बचतकर्ताको ७ अर्ब बढी निक्षेप रकम जम्मा थियो । अब बचतकर्ताको उक्त रकम जोखिममा परेको छ । 

आफूले राखेको बचत जोखिममा परेपछि बचतकर्ताहरु गत हप्तादेखि सहकारी विभागमा धाईरहेका छन् । हालसम्म १ हजार २ सय बढी बचतकर्ताले विभागमा उजुरी दिईसकेका छन् । 

यी हुन् २ ‘हाई प्रोफाइल एक्जाम्पल’

बचतकर्ताको पैसा फिर्ता दिन नसक्ने भएपछि सञ्चालकहरु फरार भएको यो नै पहिलो घटना भने होइन । हालसम्म १२ वटा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको विषयमा सहकारी विभागमा उजुरी परिसकेको छ । 

देशभर रहेका ३० हजार बढी सहकारीको नियमन गतिलो नहुँदा सहकारीका सञ्चालकले आफूखुशी सेयर बजार र घरजग्गामा लगानी गर्दा सहकारीहरु डुब्ने गरेको देखिएको विभागको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

विशेषगरी ठूला र कहलिएका व्यवसायीले चलाएका सहकारीहरुले घरजग्गामा लगानी गर्दा बचतकर्ताको पैसा फिर्ता दिन नसक्ने अवस्थामा पुग्ने गरेका केही उदाहरणहरु छन् । 

जसको चर्चित उदाहरण हो सिभिल सहकारी । संविधानसभा सदस्यसमेत रहेका सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङले चलाएको यो सहकारी खुब चलेको सहकारी थियो । तर, तामाङको महत्वकांक्षाले सहकारी मात्रै डुबेन, तामाङ स्वयम् हाल थुनामा छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७८ असोज ८ गते पक्राउ गरेर उनीविरुद्द ५ अर्ब ७७ करोड ८० लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा चलायो । अदालतले पुर्पक्षको लागि थुनामा पठायो । हाल पनि मुद्दा चलिरहेकै छ । 

त्यस्तै, बचतकर्ताको रकम दिन नसक्ने गरी टाट पल्टिएको अर्को ‘हाई प्रोफाइल’ व्यक्तिले चलाएको सहकारी हो ओरियन्टल सहकारी । सुधिर बस्नेतले चलाएको यो ओरियन्टल कोअपरेटिभलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको थियो । 

तर, २०७६ को फागुनमा सर्वोच्चले ओरियन्टल कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको नमिलेको भन्दै उक्त सहकारीको दायित्व फरफारक गर्ने दायित्व सञ्चालक सुधिरकै भएको फैसला गरेको थियो । त्यसपछि २०७७ साउनबाट ब्यूँतिएको भएपनि अझैसम्म ओरियन्टल पीडित सबैले पैसा पाईसकेका छैनन् ।

किन डुब्छन् सहकारी ?

यी दुई ठूला सहकारी डुब्नुमा घरजग्गा कारोबारमा गरिएको लगानी नै मुख्य कारक रहेको पाईन्छ । आफूले गर्दै आएको घरजग्गा तथा अपार्टमेन्ट निर्माणको कामबाट मनग्य आम्दानी हुने भएपछि सिभिलका इच्छाबहादुर र ओरियन्टलका सुधिरले आफूले चलाईरहेको सहकारीमा बचतकर्ताबाट संकलन भएको रकम घरजग्गामै खन्याए ।

तर, राष्ट्र बैंकले यस्तो कर्जामा सीमा लगाईदिएपछि इच्छाबहादुर र सुधिरको व्यवसायिक साम्राज्य गर्ल्याम गुर्र्लुम्मै ढल्यो ।

‘जतिसक्दो चाँडो धेरै नाफा हुने क्षेत्र खोज्दा अहिले अधिकांश सहकारीले घरजग्गा र सेयर बजारमा लगानी गरेका छन्’,सहकारी विभागका एक अधिकारी भन्छन्, ‘कोरोनाको बेलामा सहकारीहरुले पनि सेयरमा लगानी गरेको पाइएको छ । त्यतिबेला सेयर बढिरह्यो । तर, एक्कासी ह्वात्तै घटेपछि समस्यामा परे । सँगै, घरजग्गामा पनि त्यस्तै भयो । अहिले बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा कारोबारमा मन्दी आएको छ । त्यसैले सहकारीहरु समस्यामा पर्न थाले ।’

गाउँका भन्दा पनि शहरी इलाकाका सहकारीहरुले बचतकर्ताबाट उठाएको पैसा घरजग्गा कारोबारमा लगानी गरेका छन् । यस्ता सहकारीहरु क्रमशः यसैगरी समस्यामा पर्ने विभाग स्रोत बताउँछ ।

तर, हालै मात्रै बचतकर्ताको पैसा तिर्न नसकेर फरार भएका गौतमश्रीका अध्यक्ष रामबहादुर गौतमको भने आयात र कृषिबाहेक अन्यत्र के के मा लगानी थियो भन्ने अनुसन्धान भईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved