लाखौँ वचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा : आफू मात्र होइन, देशै लिएर डुब्ने बाटोमा सहकारी

ईश्वर अर्याल/बिजपाटी

ईश्वर अर्याल/बिजपाटी

Aug 31, 2022 | 06:20:03 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंस्थित साँखुमा रहेको जन्म वचत तथा ऋण सहकारी संस्थाले गत भदौ ५ मा एक सूचना जारी गर्दै वचतकर्तालाई ५ दिनभित्र बचत लिन नआए पैसा 'ढुस' हुने भन्दै एक सूचना जारी गर्यो ।

'यस जन्म वचत तथा ऋण सहकारी संस्थामा आफ्नो वचत रकम जम्मा गर्नुभएका वचतकर्ताहरूलाई यही २०७९ भाद्र १० गते शुक्रवारसम्ममा आफूले वचत गरेको रकमको आधिकारिक कागजात (पासबुक, भौचरका साथै नागरिकताको फोटोकपीसमेत) लिई आउन यो सार्वजनिक सूचना जारी गरिएको छ,' संस्थाले जारी गरेको सूचनामा भनिएको छ ।

'अन्यथा ५ दिनपछि दाबी गर्न आउने वचतकर्ताहरूको वचत फिर्ता गर्न नसकिने जानकारीसमेत यही सूचनामार्फत दिन चाहन्छौं,' सूचनामा थप भनिएको छ ।

उक्त सूचनाले सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ का कुनै पनि दफा या उपदफा विरुद्ध छ । सहकारी समस्याग्रस्त भए या अन्य कुनै कारणबाट चल्न नसक्ने भए वचतकर्ताले आफ्नो पैसा फिर्ता पाउने अन्य धेरै प्रावधान छन् । ५ दिनभित्र पैसा लिन नआए छैठौं दिनमा पैसा दिन नसकिने सूचना आफैंमा कानूनविपरित हो ।

त्यसपछि त्यहाँ वचत गरेका मान्छेहरू लाइन लागेर पैसा लिन पुगे । त्यहाँ पुगेकामध्ये एक वचतकर्ताले बिजपाटीसँग भने, 'यस्तो डामाडोल त मैले आज सम्म देखेको थिइन । संस्थापकहरूलाई जे लहड चल्यो त्यही गरिदिने ? यो देशमा नियम कानून छैन ? म जस्ता हजारौं वचतकर्ताहरू आत्तिएका छन् ।'

सहकारीका सञ्चालक डेविड श्रेष्ठको तर्क भने अलग थियो । 'हामीले सहकारी बेच्न खोजेका छौं त्यसैले कोही कसैको वचत यहाँ भए ५ दिनभित्र लिन आउन अनुरोध गरिएको हो । यसो गर्दा हाम्रोमा वचत गर्नेहरूको तथ्यांक पनि आउँछ । नराम्रो र गैर-कानूनी काम गरेका छैनौं ।'

पछिल्लो समय सहकारीमा संस्थागत तथा आर्थिक सुशासनको कमजोरीका कारण हजारौं होइन, लाखौँ पनि होइन करोडौं वचतकर्ताले जम्मा गरेको पैसाको जोखिम बढ्दै गएको छ । विगत दुई महिनायता सहकारी विभागमा सयौं सहकारीविरुद्ध हजारौं मुद्दा परेका छन् ।

कहिले कहाँ ठगी ?

गत जेठ १५ गते काठमाडौँमा संचालित नमस्ते गोसाइकुण्ड बचत तथा ऋण सहकारी संस्थामाथि बचतकर्ताहरूको ९१ लाख रुपैयाँभन्दा बढी फिर्ता नगरेको आरोप लाग्यो । वचतकर्ताहरू आन्दोलित भए र सहकारी विभागमा उजुरी गर्न पुगे । सहकारी विभागले प्राथमिकताका साथ सो मुद्दा हेरिरहेको छ ।

गत असार १ गते बचतकर्ताको ४ अर्ब फिर्ता नगरेको भन्दै देउराली बहुउद्देश्यीय सहकारी संस्था ललितपुर कार्यालय बन्दको सूचना टाँस गरियो ।

त्यस्तै १३ साउनमा  गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था काठमाडौं कार्यालय बन्द गरेर सञ्चालक फरार भए, उनीहरूमाथि लागेको ७ अर्ब ठगी मुद्दा अहिले प्रक्रियामा अघि बढेको छ । गौतमश्रीविरुद्ध १४ भन्दा बढी मुद्दा परेको सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले बिजपाटीलाई बताएका छन् ।

त्यस्तै १३ साउनमा मोरङस्थित भाण्टाबारी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ताहरूको ४० लाख लिएर सञ्चालक फरार भए अनि राजमार्ग अवरुद्ध गरेरै आन्दोलन गर्नुपरेको छ । साउन १६ मा सुनसरीकै बराह बचत तथा ऋण सहकारी संस्थामाथि बचतकर्ताहरूको करीब ७ अर्ब रुपैयाँ फिर्ता नगरेको आरोप लाग्यो ।

गत सालको मङ्सिर २९ गते झापामा संचालित त्रिगंगा कृषि सहकारी संस्थाका अध्यक्ष बचतकर्ताको ८० लाख रुपैयाँ लिएर फरार भए । यतिबेला सहकारी विभागमा पैसा खाएर भागेको, बचतकर्ताको पैसा फिर्ता नगरेको, बढी ब्याजको लोभ देखाएर बचत रकम नै झ्वाम पारेका उजुरीहरू दिनहुँ  परिरहेका छन् ।

के भन्छ सहकारी विभाग ?

सहकारी विभागका सूचना अधिकारी तथा उपरजिष्ट्रार टोलराज उपाध्यायले बिजपाटीसँग भने, 'अहिले जे जति समस्या देखिएको छ त्यो समग्र वित्तीय प्रणालीमै देखिएको समस्याको अंग हो । वित्तीय प्रणालीमै समस्या देखिएपछि सहकारी अछुतो हुने कुरै भएन ।'

पछिल्लो समय एकाध सहकारीले गरेको व्यवहारका कारण समग्र वचतकर्ता नै आत्तिने परिस्थिति बनेको उपाध्यायको भनाइ छ ।

'एकाध सहकारीले गरेको नराम्रा कामहरू सञ्चार माध्यममा आएपछि सहकारीमा पैसा जम्मा गर्ने देशभरिका वचतकर्ताहरू आत्तिने गरेका छन्,' उपाध्यायले भने, 'अस्ति गौतमश्रीको समस्या आयो । त्यसविरुद्ध मात्र १४ सय जति उजुरी परेका छन् । अन्य सहकारी विरुद्ध पनि मुद्दा त परिरहन्छन् । तर समग्रमा सबै सहकारी नराम्रो छ भन्न मिल्ने अवस्था छैन ।'

उनले सहकारीको सैद्धान्तिक मर्म सरकारले नियन्त्रण गर्न परोस भन्ने नरहेको बताए । 'सरकारले नियन्त्रण गर्नुपर्छ भन्ने सहकारीको अवधारणा होइन,' उपाध्यायले भने, 'सहकारीमा आबद्ध व्यक्तिहरूले यो बुझ्नुपर्छ । त्यो बुझे समस्या नै आउँदैन ।'

देश विकासको तीन पिलरमध्ये सहकारी ध्वस्त हुने बाटोमा

सरकारको आर्थिक नीतिले विगत दुई दशक भन्दा यता देश विकासका लागि तीन वटा पिलर महत्त्वपूर्ण रहेको वकालत गर्दै आएको छ । तीन वटा महत्त्वपूर्ण पिलर हुन् - सरकार, निजी क्षेत्र र सहकारी । तीमध्ये सहकारीमा पछिल्लो समय धेरै नै बढी बेथिति देखिन थालेको छ ।

तीमध्ये एउटा महत्त्वपूर्ण पिलर सहकारी अहिले धरासायी हुने अवस्थामा पुगेको छ । राष्ट्रबैंकका गभर्नरसमेत रहेका पूर्व अर्थमन्त्री युवराज खतिवडाले सहकारीमा मुख्यतः आधा दर्जन समस्या रहेको बताउँछन् ।

उनले नेपालमा सहकारीलाई बुझ्ने दृष्टिकोणमै समस्या रहेको बताए । 'मैले निकै पहिलादेखि भन्दै आएको थिएँ, नेपालमा सहकारीबारे फरक-फरक दार्शनिक कोण छ । एउटाले एकथरी बुझिरहेको हुन्छ भने अर्कोले अर्कोथरी ।'

डा. खतिवडाले सहकारीमा संस्थागत सीमितता, धनीमानीको कब्जा, क्षमतामा लगाम, दाताको उदासीनता र कतिपय नैतिक प्रश्नहरू रहेको भन्दै यसको समाधान गर्नुपर्ने बिजपाटीलाई बताए ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved