टुकुचा खोलामा भेटियो डुबेको सहकारीको महत्वपूर्ण कागजात

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 07, 2022 | 05:35:01 PM मा प्रकाशित

laxmi  sunrise bank

टुकुचा खोला हराएको वर्षौ भइसक्यो । यदाकदा चर्चामा आउन भने छोडेको छैन । जय नेपाल हलको परिसरमा काठमाडौँ महानगरले डोजर लगाएर उत्खनन् गर्दा टुकुचा देखिएको पनि हो । तर, पूरातात्विक सम्पदा भन्दै त्यसलाई हालकै अवस्थामा छोडिदिन दबाब आएपछि महानगरका मेयर बालेन शाह पछि हटेका छन् ।

टुकुचा खोलाको यो प्रसंग यहाँ किन उल्लेख गरिएको हो भने, यो खोला किनारमा बनेका भवनहरुमा सरकारले खोजी गरेका कागजात भेटिन थालेको छ । यसको हालैको उदाहरण हो, समस्याग्रस्त घोषणा भएको चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको कागजात फेला पर्नु ।

२०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा भएको यो सहकारी संस्थाको बारेमा हालसम्म केही पत्ता लागेको थिएन । तर, गत असोज दोस्रो हप्तामा एउटा घरको अण्डरग्राउण्ड सटरबाट यस सहकारी सम्बन्धि कागजात फेला परेको छ । अचम्मको कुरा के छ भने, त्यो अण्डरग्राउण्ड सटर टुकुचा खोलाभन्दा तल छ ।

टुकुचा माथि नै बनेको घर होइन, टुकुचाको किनारमा बनेको घर रहेछ’ कागजात जफत गर्ने टोलीका एक सदस्य भन्छन्, ‘त्यो अण्डरग्राउण्ड सटरबाट टुकुचा खोला माथि देखिँदो रहेछ ।’

साढे ४ वर्षपछि कसरी भेटियो ‘क्लु’ ?

चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड नामक सहकारी २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा भयो । त्यसपछि सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई यो सहकारीमा बचत रहेका बचतकर्ताको रकम फिर्ता गराउने कार्यादेशसहित आवश्यक कारबाहीका लागि लिखित रुपमा पत्र पठायो ।

तर, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जति नै प्रयास गर्दा पनि यो सहकारीबारे केही जानकारी पाउन सकेन । निरन्तरको प्रयास असफल भएपनि समितिले प्रयास गर्न भने छोडेन ।

उक्त सहकारीको कार्यालय बसेको घरको ठेगाना र घरधनी पत्ता लगाउन कोसिस गरियो । त्यो पनि सफल भएन । किनकी, घरधनीले अर्कै व्यक्तिलाई रेखदेख र भाडा उठाउने गरी घर जिम्मा लगाएका थिए ।

निकै कोसिस गरेपछि उक्त सहकारीमा कारोबार गर्ने एक महिला फेला परिन् । सुरुमा त उनले पनि जानकारी नरहेको नै भनिरहिन् । तर, प्रहरी लगाएरै फकाइफुल्याई गरेर सोधपुछ गरेपछि ती महिलाले कमलादीस्थित काठमाडौँ प्लाजासँगै जोडिएको घर देखाइन् ।

उक्त घरका घरधनी प्रदीप प्रसाद प्रधान रहेछन् । प्रधानले शोहन श्रेष्ठलाई रेखदेख र भाडा उठाउने गरी घर जिम्मामा छोडेको पनि खुल्न आयो । शोहनले नै हाल उक्त घर हेरचाह गरिरहेको पाइयो ।

चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका कुनै कर्मचारी र सञ्चालक आउन छोडेपछि र १ वर्ष देखिको घरबहाल समेत नतिरेपछि उनै शोहनले अण्डरग्राउण्ड सटरमा लगेर ती कागजात राखेका रहेछन् । यसरी समितिले लामो कसरत गरेर बल्ल कागजात फेला पार्न सफल भएको छ ।

कागजात धुलाम्मे, धमिराले खाएको हुँदा अध्ययनमा समस्या

काठमाडौँ महानगरपालिका वडा नम्बर २८, कमलादीस्थित उक्त को–अपरेटिभको कार्यालय रहेको भवनबाट जफत गरिएका कागजात धुलाम्मे छन् । कतिपयमा धमिरा लागेर बुझ्न समेत कठिन भइरहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति स्रोत बताउँछ ।

तर, हालसम्म ती कागजात अध्ययन गर्दा ६ सय जना ऋणी फेला परेका छन् ।

यो सहकारीबाट आफ्नो बचत फिर्ता नपाएको भन्दै १४ जनाले ब्याजसहित १ करोड ६५ लाख ३४ हजार ५ सय १८ रुपैयाँ १३ पैसा मागदावी गरेका छन् ।

यसका सञ्चालकमा राजु श्रेष्ठ, शन्तोष आचार्य, प्रतिमा श्रेष्ठ, गोविन्द मरासिनी, स्वरुप मरासिनी, रेश्मा श्रेष्ठ र प्रसाद राइ लगायत रहेको खुलेको छ ।

समस्याग्रस्त घोषणा भएदेखि कोही पनि सम्पर्कमा छैनन्, सबै फरार छन्’ स्रोत भन्छ, ‘समस्याग्रस्त घोषणा गर्नै ढिला गरेपछि सञ्चालक र ऋणीहरु कागजात लुकाएर, फालेर आफ्नो सम्पत्ति लिएर फरार हुँदा रहेछन् ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved