छोरीको लास रुँगेर बसेकी आमासँग सहकारीले ऋणको हिसाबकिताब मागेपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 01:59:37 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी उपमहानगरपालिका १८ कि कल्पना विकले आफ्ना छोरीलाई उपचार गर्न फूलवारीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट २ लाख ऋण लिइन् । 

कहिले नेपाल कहिले भारतमा उपचार गराउँदै आएकी कल्पनाले आफ्नो छोरीलाई क्यान्सर भएको थाह पाएपछि चितवनको भरतपुर लागिन् । घरमा बिरामी श्रीमान् र बुढी आमा छोडेर छोरीको उपचारमा लागेकी कल्पनालाई थप उपचारको लागि पैसाको जोहो गर्नु थियो । तर, डाक्टरले उनको छोरी नरहेको कुरा सुनाएपछि होस् गुमाएकी कल्पना घर पुगेपछिका कुरा मात्र थाह पाएको स्मरण गर्छिन्।

छोरीको शव लिएर घर पुगेकी कल्पनाले मन दह्रो बनाउदै चित्त बुझाइन् । उनको छोरीको सत्गत गर्ने तयारी हुँदै थियो । अचानक उनको घरमा एक हुल मान्छेहरु आए । उनले सोचिन्, सबै मलामी आएका । 

त्यसबेला आफू अर्धचेत अवस्थामा रहेको सुनाउँदै कल्पनाले बिजपाटीसँग भनिन्, ‘मैले त्यही हुलबाट एउटा आवाज सुने,पैसा नतिरी किन जलाउन दिने ।’ उनी अझ भावुक भइन् । छोरीको लास रुँगेर केहीबेर सहकारीको हिसाब चल्यो । समय मागिन् । तर, सहकारीले समय खर्केको भन्दै सकारात्मक प्रतिक्रिया देखाएन उल्टै केरकार गर्न थाल्यो । उनले भनिन्, ‘तपाई पनि मर्नुस् कि ऋण तिर्नुस् भन्यो सहकारीका ती कर्मचारीले । पछी छिमेकी साथीहरुले किस्ता भने तिरिदिएछन्।’

कैलालीको फूलवारीमा रहेको किसान बहुउदेश्यीय सहकारीबाट ऋण लिएर छोरीको उपचार गरेकी कल्पनाले न छोरी बचाउन सकिन् न ऋण तिर्न नै । १८ लाख खर्च गरेर छोरीको उपचार गरेकी कल्पनाले सोही ऋण तिर्न नसक्दा सहुलियत गरिदिन आन्दोलनरत छिन् । 

उनले घरमा आयस्रोत केही नभएकाले ऋण तिर्न नसकेको बताइन् । ‘भएको बाख्रा पाठा सबै बेचेर ऋण तिरे , श्रीमान पनि बिरामी हुनुन्छ । केही गर्नै सक्नुहुन्न, उहाँको पनि ठेगान छैन । नतिर्ने भनेको छैन कमसेकम भाका दियोस् भन्ने हो ।’

यस विषयमा किसान बहुउद्देश्यीय सहकारी संस्थाकी म्यानेजर दिलमाया थापा मगरले उनको छोरीको मृत्यु भएको थाहा नभएको कारणले त्यसो हुन गएको बताएकी छन् । ‘म पनि भर्खर आएको हो, पहिलाको सर हुनुहुन्न, मैले बुझे अनुसार उहाँहरुले घटना भएको थाहा नभएकाले त्यसो गरेको हुनसक्छ ।’ उनले भनिन्, ‘पहिला के कसरी ब्याज उठाउनु भयो थाहा भएन, तर घटना हुँदा हामी त्यसो गर्दैनौं ।’ उनले सहकारीका पुराना म्यानेजर र कर्मचारीले  ब्याज उठाउन त्यसो गरेको हुनसक्ने बताउँदै अब त्यस्तो नहुने प्रतिबद्धता जनाइन् ।

पछिल्लो केही समय यता सहकारी संस्थासँग नजोडिएका कोही पनि भेट्न सकिदैन । कुनै न कुनै सहकारीमा महिला पुरुष दुवैको बाक्लो उपस्थिति छ । गाउँगाउँमा खोलेका सहकारीले धेरैको जीवनस्तरलाई परिवर्तन समेत गरेका छन् । तर, पछिल्लो समय सहकारीको महँगो ब्याजको ऋणले कतिपय घरपरिवार तहसनहस भएका भएका छन् ।

त्यसैले पनि पछिल्लो समय एउटा निश्चित मापदण्ड बनाएर एउटा तहसम्मका सहकारीलाई नियमन गर्न अलग्गै नियामक हुनुपर्ने विज्ञ तथा जानकारहरुले बताउने गरेका छन्। त्यसो त पुर्व अर्थमन्त्री तथा पुर्व गभर्नर युवराज खतिवडा तथा नेपाल राष्ट्र बैंकका बहालवाला गभर्नर महाप्रसाद अधिकारीले पनि सहकारीलाई एउटा निश्चित मापदण्ड बनाएर उनीहरुलाई नियमन गर्ने अलग्गै नियामक बनाउनुपर्नेबारे सार्वजनिक कार्यक्रममा नै बोलेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved