शिवशिखरबाट केदारनाथले अपचलन गरेको १० अर्ब फिर्ताको सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2024 | 02:07:58 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा र अन्य सञ्चालकहरुले अपचलन गरेको बचतकर्ताहरुको करिब १० अर्ब रुपैयाँ फिर्ता हुने सम्भावना न्यून बन्दै गएको छ । सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सम्पत्ति तथा दायित्व फर्छ्यौट गर्न सहकारी व्यवस्थापन समितिमा पठाइएको भए पनि कागजात नै बरामद हुन नसक्दा बचतकर्ताहरुले बचत फिर्ता पाउने सम्भावना कमजोर बन्दै गएको देखिएको छ ।

सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० भदौ २५ मा शिवशिखर बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । तर, समस्याग्रस्त घोषणा भएको ८ महिना नाघिसक्दा पनि सबै कार्यालबाट कागजात संकलन गर्न नसकिएको सहकारी व्यवस्थापन समितिको कार्यालय स्रोत बताउँछ । 

३७ शाखामध्ये धनगढी र काठमाडौँ उपत्यकाका शाखा कार्यालयमा गत कार्तिक र मंसिरमा छापा मारेर कागजात बरामद गरिएको छ । बैशाखमा लुम्बिनी र कर्णाली प्रदेशका थप ७ शाखा र २ वटा मार्टमा छापा मारिएको छ । तर, बाँकी कार्यालय र मार्टहरुबाट कागजात संकलन हुन सकेको छैन । 

उक्त सहकारीका ३४ हजार ६ सय बचतकर्ताको ९ अर्ब ६४ करोड रुपैयाँ पाउन बाँकी रहेको भन्दै मागदाबी गरेका छन् । तर, स्रोतले भने शिवशिखर सहकारीका पीडितले बचत रकम फिर्ता पाउने सम्भावना अत्यन्त न्यून रहेको दाबी गरेको छ । 

‘नेपालमै लगानी भएको क्षेत्रको त ढिलो चाँडो हिसाब आउला, तर उसले (केदारनाथ शर्माले) यहाँको पैसा लगेर भारतमा पनि लगानी गरेको छ भनिएको छ, यहाँबाट पैसा गएर अर्को देशमा भएको अवस्थामा त्यो पैसा आउने सम्भावना कम छ’ स्रोत भन्छ, ‘यति भद्रगोल अवस्था कि, बचतकर्ताले पैसा फिर्ता पाउन सक्ने चान्स नै लगभग छैन भन्दा हुन्छ ।’

त्यसो त, सबै शाखाबाट कागजात नै संकलन भएको छैन । स्रोतका अुनसार अझै २७-२८ वटा शाखा कार्यालयमा छापा मार्न बाँकी छ । ति शाखामा सहकारी व्यवस्थापन समितिले छापा मारेर कागजात संकलन गरेर जिन्सी सामान लिलामी नगरेसम्म शाखा बन्द गर्न मिल्दैन । अहिले जिन्सी सामान प्रयोग गर्न योग्य अवस्थामै नरहने बेला भइसकेको र शाखा बन्द नभए सम्म भाडा तिर्ने दायित्व पनि सहकारी व्यवस्थापन समितिकै हुने समिति स्रोत बताउँछ ।

‘शिवशिखरका ३४ वटा शाखा भाडामा छन्, यीनको भाडा तिर्ने दायित्व सहकारी व्यवस्थापन समितिकै काँधमा आएको छ’ स्रोत भन्छ, ‘मैले यो कुर्सीमा बसेर (सार्वजनिक संस्थाको जिम्मेवारी)मा बसेर यो कुरा भन्न नमिल्ला । तर, शिवशिखरबाट पीडित भएका बचतकर्ताले पैसा फिर्ता पाउन गाह्रो छ । सानो सानो बचत भएकाले सम्पूर्ण हिसाब निकालेपछि केही वर्षपछि पाउलान् । तर, जसले लाखौँ र करोडौँ पैसा राख्नु भएको छ, उहाँहरुले सबै रकम फिर्ता पाउने सम्भावना कम छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved