श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मुलुकको अर्थतन्त्रमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै मन्त्री अर्यालले सहकारीले रोजगारी सृजना गर्नेदेखि लिएर साना व्यवसाय स्थापित गर्नमा सहयोग पुर्याएको बताएका हुन् ।
मन्त्री अर्यालले सहकारीले गाउँ- गाउँमा पुगेर प्रत्येक मानिसलाई बचत गर्न सिकाएको बताए । ‘सहकारीले आर्थिक रुपमा विपन्न नागरिकलाई उद्यमी बन्न सिकाएको छ । उनीहरुले उत्पादन गरेका उत्पादनलाई बजारको समेत व्यवस्थापन गरिदिएको छ’ उनले भने ।
तर, केहि निश्चित व्यक्तिको बदमासीको कारण सम्पूर्ण सहकारी क्षेत्र बदनाम भएको पनि उनले बताए । राष्ट्रिय सहकारी महासंघले गत शुक्रबारदेखि सहकारी रोजगार मेलाको आयोजना गरेको थियो ।