बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध एक अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरी बिहीबार म्याग्दी जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको हो ।
अनुसन्धान प्रतिवेदन अनुसार सहकारीका पूर्वसचिव तथा हालका जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापाले १७ करोड ५८ लाख ६३ हजार चार सय २६ रुपैयाँ हिनामिना गरेको देखिएको छ । त्यस्तै, पूर्वप्रबन्धक रूद्र गुरूङले १३ करोड ५९ लाख ४८ हजार छ सय नौ, सचिव देवीकुमारी थापाले तीन करोड ७१ लाख चार हजार छ सय ३१, पूर्वअध्यक्ष मनप्रसाद थकालीले पाँच करोड ८२ लाख ६६ हजार सात, पूर्वकोषाध्यक्ष थमबहादुर गर्बुजाले चार करोड ५५ लाख ९४ हजार दुई सय २७ र लेखा समिति सदस्य लोकबहादुर पुन (लोकेश) ले दुई करोड १० लाख ४६ हजार ४४ रुपैयाँ हिनामिना गरेको देखिएको छ ।
बाँकी फरार व्यक्तिहरूले पनि ५२ लाखदेखि सात करोड ४४ लाखसम्मको रकम दुरुपयोग गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । थुनछेक बहस आइतबारदेखि सुरू हुने सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिएका छन् । पक्राउ परेकाहरू प्रहरी हिरासतमा रहेका छन् भने १९ जना अझै फरार छन् ।
अनुसन्धानका क्रममा सहकारी सञ्चालकहरूले संस्थालाई आफ्नो नियन्त्रणमा राखी अनधिकृत रूपमा कारोबार गरेको, गलत लेखापरीक्षण गराई झूटा प्रतिवेदन सार्वजनिक गरेको, निजी सम्पत्ति खरिद गरेको, सहकारी रकमलाई ढुकुटी तथा गैरकानुनी कारोबारमा प्रयोग गरेको खुलासा भएको छ ।
सहकारी ऐन, २०७४ तथा मनि लाउन्डरिङ निवारण ऐन, २०६४ अनुसार थप अनुसन्धान तथा कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।