सहकारी अभियानको मर्यादा कायम गर्न महासंघको आह्वान, सहकारी दिवस भव्य रूपमा मनाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2025 | 08:45:38 PM मा प्रकाशित

राष्ट्रिय सहकारी महासंघ, नेपालले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मूल थिम तय गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले सहकारी क्षेत्रलाई सुशासन, पारदर्शिता र उत्तरदायित्वमा आधारित बनाई मुलुकको समुन्नत समाज निर्माणमा योगदान दिनुपर्ने सन्देश दिएको छ।

महासंघले सहकारी संघ–संस्थाहरू, सरोकारवालाहरू तथा सम्पूर्ण सहकारी अभियन्ताहरूलाई उक्त थिमअनुसार दिवस भव्य रूपमा मनाउन र वर्षभरिका कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरेको छ। सहकारी अभियानमा संलग्न करिब ३२ हजार संघ–संस्थामार्फत ७३ लाखभन्दा बढी सदस्य आवद्ध छन्। यस विशाल नेटवर्कले वित्तीय पहुँच विस्तार, आर्थिक समृद्धि प्रवर्द्धन र समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित यो दिवस विशेष रूपमा मनाउने तयारी गरिएको छ।

यस वर्षको राष्ट्रिय सहकारी दिवस झन् विशेष महत्त्वको रहेको महासंघले जनाएको छ। सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रूपमा मनाइरहेको सन्दर्भमा नेपालले पनि संघीय सरकारसँग सहकार्य गर्दै दिवसलाई भव्य र सन्देशमूलक रूपमा मनाउने योजना बनाएको छ।

नेपालमा सहकारी अभियानको औपचारिक थालनी वि.सं. २०१३ साल चैत २० गतेबाट भएको मानिन्छ। यही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने परम्परा रहँदै आएको छ। सहकारी संस्थाहरूको अनुशासन, मर्यादा र उत्तरदायित्व अझ सुदृढ गर्न महासंघले सबै पक्षलाई आह्वान गरेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved